समाचार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनायो पहिलो वार्षिकोत्सव

By खबरहब

February 17, 2022

जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो भएको बताएका छन् ।

जनकपुरधाममा बिहीबार प्रतिष्ठानको पहिलो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोका रूपमा प्रतिष्ठान अघि बढेको बताएका हुन् ।

प्रतिष्ठानले एक वर्षभित्रै ४ वटा विषयमा स्नातक तहको अध्ययन अध्यापन सुरु गरेकोमा उनले खुशी व्यक्त गरे । मुख्यमन्त्री राउतले विशेष कोभिड अस्पतालको सञ्चालन र विशिष्टिकृत सेवाको सञ्चालन गर्नु स्वागत योग्य रहेको पनि बताए ।

समारोहमा प्रतिष्ठानले एक वर्षमा गरेको उपलब्धि सार्वजनिक गरिएको थियो ।

समारोहमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, उपकुलपति डा. रामकेवल साह, चिकित्सक, स्वास्थ्यकर्मीलगायत सहभागी भएका थिए ।