खेलकुद

लिभरपुलले आर्सनललाई हरायो, टोटनहमसँग ब्राइटनको हार

By खबरहब

March 17, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिग दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिँदै गएको हो।

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक-एक गोल गरे ।

जितसंगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।

हारसंगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २-० अन्तरले पराजित गर्यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक-एक गोल गरे ।

जितसंगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औं स्थानमा छ ।