तस्वीर- पीए मिडिया

अन्तर्राष्ट्रिय

युक्रेन तत्काल नेटोमा सामेल नहुने बेलायती प्रधानमन्त्रीको भनाइ

By खबरहब

March 17, 2022

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन तत्काल उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् ।

‘युक्रेन तत्काल नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरूको भ्रमणमा रहेका प्रधानमन्त्री  जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए ।  उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुला ढोकाबारे सुनेका छौं, तर हामीले ती ढोका प्रवेश गर्न सक्दैनौँ भन्ने पनि सुनेका छौं ।’

प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको रुसी सेनाको पाशविक हमला अन्त्य हुनुपर्ने उनले बताए ।

युक्रेनमा रुसी आक्रमणसँगै बजारमा तेलको मूल्यमा अस्थिरता आइरहेका बेला जोनसन हाल खाडी मुलुकहरु साउदी अरब र संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा छन् ।