तस्वीर- एपी

अन्तर्राष्ट्रिय

युक्रेन युद्धबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक डाकियो

By खबरहब

March 17, 2022

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक डाकिएको छ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक डाकिएको हो

‘बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषद्को बैठक डाकेका छन् । रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो ।’ संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ ।

बेलारुसमा भइरहेको छलफलमार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला सुरक्षा परिषद्को बैठक डाकिएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् ।

‘वार्ता अझै प्रगतिमा छ । वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्थाबारे भन्नुपर्दा, म यो जारी छ भन्न चाहन्छु ।’ जेलेन्स्कीले शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका थिए ।

बुधवार चौथो चरणको वार्ता जारी रहँदा युक्रेनी वार्ता टोलीका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको उनले बताएका थिए ।