अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

March 17, 2022

अडियो सुन्नुहोस्:

आज चैत्र ३, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुसी फौजको निशानामा मारिउपोलको नाट्यशाला

आक्रमणकारी रुसी फौजले घेराबन्दीमा परेको दक्षिणी युक्रेनी शहर मारिउपोलस्थित नाट्यशालामा आक्रमण गरेको छ । मानिसहरु युद्धबाट जोगिन शरण लिइरहेका बेला उक्त नाट्यशालामा रुसी फौजले आक्रमण गरेको हो ।

मारिउपोलका उपमेयर सर्गोई ओर्लोभले बीबीसीलाई दिएको जानकारी अनुसार आक्रमणका बेला उक्त नाट्शालामा १ हजार देखि १२ सय सर्वसाधारणले शरण लिएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर र भिडियोहरुमा आक्रमणपछि उक्त नाट्यशाला ध्वस्त भएको र धुवाँको कालो मुस्लो उडिरहेको भग्नावशेषबाट मानिसहरुको उद्धार गरिरहेको देखिन्छ ।

उक्त नाट्यशालामा आक्रमणबाट भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । यद्यपि स्थानीय सांसद दिमित्रो गुरिनले बीबीसीलाई दिएको जानकारीअनुसार अधिकांश मानिस आक्रमणमा बाँच्न सफल भएका छन् ।

मारिउपोलको नगर परिषद्ले भने रुसी फौजले सुरक्षित बसिरहेका निर्दोष मानिसहरुलाई निशाना बनाएको जनाएको छ । ‘रुसी फौजले जानाजान आक्रमण गरी नाट्यशाला ध्वस्त बनाएको छ ।’ नगर परिषद्ले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मारिउपोलका सयौं शान्तिपूर्ण नागरिक  लुकेर बसिरहेको भवनमा लडाकु विमानले बम खसालेका थिए ।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाए । ‘रुसले हाम्रा जनताविरुद्ध, हाम्रो मारिउपोलविरुद्ध जे गरिरहेको छ, त्यसले हाम्रो हृदय छियाछिया भएको छ ।’

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र नगर परिषद्ले सर्वसाधारण लुकेर बसेको भवनमा आक्रमण गर्ने रुसको कदम ‘युद्ध अपराध’ भएको जनाएका थिए ।

गैर सैनिक निशानामा आक्रमण गरेको भनी रुसमाथि बारम्बार युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यसअघि रुसले मारिउपोल शहरमै रहेको एक बाल अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।

भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि  कोरोना कूल सङ्क्रमति  ४ करोड ३० लाख एक हजार ४७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको हो । 

यसबाहेक भारतमा कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना शुरु भएबाट  हालसम्म भारतमा   ४ करोड  २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन् ।

युक्रेन युद्धबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक डाकियो

युक्रेनमा जारी रुसी आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक डाकिएको छ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक डाकिएको हो 

‘बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषद्को बैठक डाकेका छन् । रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो ।’ संयुक्त राष्ट्र संघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा  लेखेको छ ।

बेलारुसमा भइरहेको छलफलमार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला सुरक्षा परिषद्को बैठक डाकिएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् । ‘वार्ता अझै प्रगतिमा छ । वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्थाबारे भन्नुपर्दा, म यो जारी छ भन्न चाहन्छु ।’ जेलेन्स्कीले शान्ति 

वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन् । बुधवार चौथो चरणको वार्ता जारी रहँदा युक्रेनी वार्ता टोलीका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको बताएका थिए ।

नाइजेरियामा दुई कारागार अधिकारी मारिए

नाइजेरियाको दक्षिणी राज्य इमोमा दुई कारागार अधिकारीको गोली हानी हत्या गरिएको छ ।

कारागारका दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले जनाए । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् ।

बुधबार नाइजेरियको नाइजर राज्यस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको थियो ।  स्थानीय सुरक्षा अधिकारीले केही बन्दुक हमलाबाट कम्तीमा १० जनाको हत्या भएको बताएका थिए ।

नाइजरका प्रहरी प्रमुख बाला कुरियर्सले सोमबार नाग्मा प्रहरी चौकीमा बन्दुकधारीले गरेको हमलामा परी तीन जना प्रहरी अधिकारी मारिएको बताएका थिए । त्यसपछि मंगलबार पनि बन्दुकधारीहरूले सोही चौकीमा हमला गरेका उनले बताए ।

नाइजरको सहर म्याग्मा प्रहरी कार्यालयमा मंगलबार पनि अन्धाधुन्ध गोली प्रहार गरेर थप तीन प्रहरीको हत्या भएको थियो । मंगलबारको गोली प्रहारमा परी चार जना सर्वसाधारण पनि मारिएको बताइएको छ । मंगलबार मारिएका चार सर्वसाधारण माग्माका गाउँले रहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए ।

क्षेत्रमा विगतका केही महिनादेखि बन्दुकधारीहरूले अन्धाधुन्द गोली हानेर सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान लिने क्रमबढेको अधिकारीहरूले जनाएका छन् ।

युक्रेन तत्काल नेटोमा सामेल नहुने बेलायती प्रधानमन्त्रीको भनाइ

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन तत्काल उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् ।

‘युक्रेन तत्काल नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरूको भ्रमणमा रहेका प्रधानमन्त्री  जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए ।  उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुला ढोकाबारे सुनेका छौं, तर हामीले ती ढोका प्रवेश गर्न सक्दैनौँ भन्ने पनि सुनेका छौं ।’

प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको रुसी सेनाको पाशविक हमला अन्त्य हुनुपर्ने उनले बताए । युक्रेनमा रुसी आक्रमणसँगै बजारमा तेलको मूल्यमा अस्थिरता आइरहेका बेला जोनसन हाल खाडी मुलुकहरु साउदी अरब र संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा छन् ।

युक्रेन युद्धका कारण विश्वभर खाद्य संकट बढ्ने चिन्ता

संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् । उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावनी दिएका समाचारमा जनाइएको छ ।

प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए । उनका अनुसार युरोप लगायतका क्षेत्रमा युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्नेछ । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुनसक्ने अनुमान छ ।

उनले भने– ‘युद्धका अरु पनि असरहरू होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महङ्गीका असर गर्न सक्छ ।’

संयुक्त राष्ट्र संघीय मुख्यालय न्युयोर्कमा संवाददाताहरूसँग उनले यो युद्ध जति समय लम्बिँदै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान गरे । तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ ।

बाइडनले पुटिनलाई युद्ध अपराधी भनेपछि रुस क्रुद्ध

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ ।

युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ। ’

राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीगलौजमा उत्रिएको विश्लेषण हुन थालेको छ ।

अमेरिकी कम्पनीलाई रुसी बजार छाड्न जेलेन्स्कीको आह्वान

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् ।

रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ । सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति जेलेन्स्की ऋणी भएको बताए ।

‘रूसी सैन्य मेसिन नरोकिने बेलासम्म’ अझै बढी गर्न र थप प्रतिबन्धहरू जारी गर्न उनले अमेरिकी संसदलाई आह्वान गरे । रुसी संघका सबै राजनीतिज्ञलाई प्रतिबन्ध लगाउन उनले अमेरिकालाई सुझाव दिएका छन् । ‘सबै अमेरिकी कम्पनीहरूले तुरुन्तै रुसी बजार छोड्नुपर्छ किनभने यो हाम्रो रगतले भरिएको छ,’ उनले थपे ।

जापानमा शक्तिशाली भूकम्प

जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् ।जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ । भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा क्षेत्रयस भूकम्पबाट सबैभन्दा प्रभावित भएका थिए । भूकम्प गएको केही समयपछि राजधानी टोकियोसहितका केही शहरमा बिद्युत आपूर्ति पनि बन्द भएको थियो ।

भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् । यी दुई क्षेत्रको तटमा समुद्रको पानी एक मिटर माथिसम्म आइपुगेको मापन गरिएको थियो । पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो ।

युक्रेनमाथिको आक्रमण तत्काल रोक्न रुसलाई अन्तर्राष्ट्रिय अदालतको आदेश

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय न्यायालय आर्ईसीजेले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ ।

अदालतले युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै यस्तो आदेश दिएको जनाएको छ । त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ ।

अदालतका १५ जना मध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुअरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन् । रुसी र चिनियाँ न्यायाधीशहरुले मात्र आदेशको विपक्षमा मतदान गरेका थिए । 

न्यायाधीशहरूले विवादलाई बढावा दिने वा फैलाउन सक्ने कुनै पनि कार्यबाट टाढा रहन युक्रेन र रुस आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

आफ्नो निर्णयमा अदालतले युक्रेनमा रूसको आक्रमणलाई अमेरिका र नेटोले जस्तो ‘युद्ध’ भनेर उल्लेख गरेको छैन । फैसलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्धको मुद्दामा पूर्ण जित हासिल गरेको छ । ’ रुसले सो फैसला मान्नै पर्ने उनले बताए । ‘फैसला बेवास्ता गरेमा रुस थप एक्लिन सक्छ’ ।, उनले भने ।  

सो फैसला धेरै हदसम्म प्रतिकात्मक हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । रूसी प्रतिनिधिहरू गत साता सुनुवाइमा देखा परेका थिएनन् । हेगस्थित  अन्तर्राष्ट्रिय फौजदारी अदालतका उच्च अभियोजनकर्ताले मार्चको सुरुमा युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्ने घोषणा गरेका थिए ।