समाचार

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

By खबरहब

March 17, 2022

अडियो सुन्नुहोस्ः

काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली भेगमा हर्षोल्लासका साथ होली पर्व मनाइयो

काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइएको छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रङ एकअर्कालाई लगाई सुभकामना साटासाट गर्ने चलन छ । साथै पर्वको अवसरमा विभिन्न संघ संस्थाहरुले होली विशेष कार्यक्रम गरेर पनि मनाउने गरेका छन् । कोरोनाका कारण यसअघिका २ वर्ष सुनसान बनेको होली यस वर्ष भने उपत्यका सहित देशभर धमधामसाथ मनाइएको छ । राजधानीको बसन्तपुरलगायत क्षेत्रमा यसपाली होलीमा रम्नेहरूको घुइचो लागेको थियो । उनीहरूले नाचगान र एकअर्कालाई अविर, रङ र रङ मिसाएको पानी छ्यापेर होली मनाएका छन् ।

होली खेल्दाखेल्दै घरबाट खस्दा किशोरी गम्भीर घाइते

काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी आज होली खेल्न आफन्तकोमा गएकी थिइन् ।

स्थानीय निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको छ । आज आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्नेसहितको आचारसंहिता प्रकाशित भएको जानकारी दिए । त्यस्तै उम्मेद्वार बन्न चाहने जनप्रतिनिधिको बेरुजुलगायत फछर्यौट हुनुपर्ने उनले बताए । स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमा सो स्थानमा अन्यले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको पनि पौडेलले बताए ।

आफ्नो शक्ति परीक्षण गर्न एकीकृत समाजवादीद्धारा अनुगमन टोली गठन

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका सातवटै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ । आज काठमाडौँमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सात वटै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरूको नेतृत्वमा टोली गठन गरेको हो । जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राइ, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झाको नेतृत्वमा अनुगमन टोली बनाइएको हो ।

कलम चुनाव चिह्नले कमाल गर्ने नेकपा एसका अध्यक्ष नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दाबी गरेका छन् । होलीको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने बताए । उनले आफूहरूको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत स्पष्ट पारे । उनले जिम्मेवार भएर समाज रूपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गरे । 

एमालेसँग निर्वाचनमा सहकार्य नहुने माओवादी अध्यक्ष दाहालको प्रष्टोक्ति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल एमालेसँग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पारेका छन् । प्रेस सेन्टर लुम्बिनीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले वर्तमान गठबन्धन निर्वाचन पछि सम्म नै कायम रहने बताउँदै एमालेसँग गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट पारे । दाहालले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन भन्दै बोल्न थालेको भन्दै नेपाली कांग्रेसको पनि भर पर्न नहुने समेत तर्क गरे ।

कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई काँग्रेसले जनतामाझ उजागर गर्नुपर्ने नेता महतको भनाइ

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताए । महतले यसअघि काँग्रेसलाई पराजित गर्न पार्टीकै केही व्यक्ति लागेको भन्दै अव काँग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे । उनले जनतामक्षा सही सूचना र एजेण्डा स्थापित गर्न सके उत्कृष्ट जित निश्चित हुने उल्लेख गरे । 

जुम्लाका काँग्रेस नेतासहित विभिन्न पार्टीका १७ जना एमाले प्रवेश, ओलीले गरे स्वागत

नेपाली काँग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । काँग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति दानसिंह खत्री, विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसीलगायत विभिन्न पार्टीका डेढ दर्जन स्थानीय नेताहरू एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा अबिर र खादा लगाइदिएर स्वागत गरे । सो क्रममा अध्यक्ष ओलीले देशभर नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेको भन्दै गठबन्धनसँगको प्रतिस्पर्धाका लागि एमाले तयार रहेको बताएका थिए ।

माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल

नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ । आज माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए ।

कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार भोलि बस्ने बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख परिक्षार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता

किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा आज मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो । कानुनमा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा २२ जना र ३ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय २० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ७ सय ८१ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

बारामा मोटरसाइकलको ठक्करले बालकको मृत्यु

बारामा मोटरसाइलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका–१८ माथिल्लो बडहर्वाका ४ बर्षीय रियान थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहान ८ बजेतिर उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । 

सल्यानमा अटो दुर्घटना हुँदा ५ बालिका घाइते

सल्यानमा अटो दुर्घटना हुँदा पाँच बालिका घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत जिल्लाको बाग्चौर नगरपालिका २ खरिबोट बजारबाट बाग्चौर जाँदै गरेको अटो आज खरिबोटको बाँधखोला नजिकै दुर्घटना हुँदा पाँच बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा बाग्चौर नगरपालिका २ खरिबोटकी सुधा भण्डारी, निर्जला बीएम, गंगा ओली, सुप्रिया परियार र ग्रिष्मा बिएम घाइते भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए

सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट गएराति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

वर्षाअघि नै मेलम्चीको गेग्रान हटाउन स्थानीयको माग

मेलम्ची खानेपानी आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दाले खोलाको ढुंगा, गिट्टी बालुवासहितको गेग्रान हटाउन माग गरेका छन् । मेलम्ची खानेपानी विकास समितिलाई मागपत्र पेश गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दले आगथामी वर्षतामा बाढी आउँदा थप कटान रोक्ने गरी काम गर्न माग गरेका हुन् । गेग्रान हटाएर आवश्यक तटबन्धनको व्यवस्था माग गर्दै स्थानीयले आयोजनासँग छलफल गरेको समितिका कर्याकारी निर्देशक बासु पौडेलले जानकारी दिए ।

ढुंगाले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

बागलुङमा ढुंगाले हानेर श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर–१४, नमुनागाउँका ५५ वर्षीय रत्नबहादुर नेपालीलाई ४२ वर्षीया श्रीमती तिला नेपालीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । ढुंगा प्रहारबाट घाइते तिलालाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

औद्योगिक प्रयोजनका लागि एकपटकमा २०० मेट्रिकटन मात्रै सुपारी आयात अनुमति

सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ । मन्त्रिपरिषदबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिजय विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिनअघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

 दूधमा जथाभावी सोडा, चिनी र साल्टको प्रयोग गरेर बिक्री गरे कारबाही

दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । आज काठमाडौँमा भएको दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले डेरी पसलहरूमा बिना लेभलका दही, पनिरलगायतका उत्पादन बिक्री बितरण भएको बताइन् ।