समाचार

जीविकोपार्जन आरन व्यवसायको भरमा

By खबरहब

April 17, 2022

मुगु– मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ ।

देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहेको हो ।

उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका-७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् ।

शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् । आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनको गुनासो छ ।

आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चामल पाइने गरेको आरन व्यवसायी बताउँछन् । आफूसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यही पेसाको भरमा जीविका चलाउनु परेको उनीहरू बताउँछन् ।

यस्तै स्थानीय सरकार बनेपछि दुस्ख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दुस्ख लागेको उनीहरू बताउँछन् । साथै बजारीकरणको औजारले गर्दा पुख्यौँली पेसा हराउँदै जाने होकी भन्ने उनीहरूको आशंका छ ।