तस्वीर- एपी

अन्तर्राष्ट्रिय

युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने

By खबरहब

April 17, 2022

काठमाडौं– रुसले प्रस्ताव गरेपनि मारिउपोल शहरमा रहेका सैनिकले आत्मसमर्पण नगर्ने युक्रेनी पक्षले जनाएको छ । मारिउपोल शहरका मेयरका सल्लाहकार पेट्रो आन्द्रेउस्चेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत युक्रेनी सैनिकले शहरको रक्षा गर्ने कार्यलाई निरन्तरता दिने जनाएका हुन् ।

उनले रुसी फौजले आवासीय भवनहरूमा समेत गोलाबारी जारी राखेको आरोप लगाए । त्यस्तै, एकजना युक्रेनी सांसदले पनि मारिउपोल शहरमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने बताएका छन् ।

युक्रेनी संसद्मा ओदेसा क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद ओलेक्सेई गोन्चारेन्कोले मारिउपोलमा रहेका युक्रेनी सैनिकले रुससँग आत्मसमर्पण नगर्ने बताएका हुन् ।

‘मैले उनीहरुसँग हिजोमात्र कुरा गरेको थिएँ र मलाई थाहा छ उनीहरु अन्तसम्म लडिरहन्छन् ।’ गोन्चारेन्कोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मारिउपोलबाट युक्रेनी सैनिकको सफाया भएको खण्डमा त्यसले युद्ध अन्त्यका लागि हुने शान्ति वार्ता प्रभावित हुने चेतावनी दिएका छन् ।

यसअघि रुसले मारिउपोलमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न समयसीमा सहितको प्रस्ताव अघि सारेका थिए ।