राजनीति

विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु

By खबरहब

May 17, 2022

चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना पुनः सुरु भएको हो ।

विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा अबदेखि कर्मचारीलाई राम्रो व्यवहार गर्ने  सहमति भएपछि मतगणना प्रक्रिया सुरु भएको हो ।

मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो ।

नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका थिए ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

भरतपुरमा गठबन्धनका तर्फबाट रेनु दाहाल र नेकपा एमालेका तर्फबाट विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालले उम्मेद्‍वारी दिएकाले सबैले भरतपुर महान‍गरमा जारी मत गणनालाई चासोपूर्वक हेरेका छन् ।