समाचार

जो बन्न सक्छन्, बालेनको प्रेरणाका श्रोत

By मनोज घिमिरे

May 17, 2022

स्थानीय तहको निर्वाचनमा बालेन्द्र (बालेन) शाहको अग्रतासँगै नेपालको राजनीति तरङ्गित भएको छ। वर्षौँदेखि मूलधारको राजनीतिबाट वाक्क भएका नागरिकको जनमत पाउँदै गरेका बालेनले जित हात पारे यसको प्रभाव कस्तो रहने भन्ने एउटा बहस सुरु भएको छ।

देशको विकास र प्रगति सङ्घीय सरकारकै जिम्मा ठान्दै नगर प्रमुखलाई धेरैले कम आँके पनि संसारमा केही यस्ता मेयर छन्, जसले त्यहाँको जीवन नै परिवर्तन गरे। यसै कारण उनीहरूलाई वर्षौँसम्म त्यस क्षेत्रका बासिन्दाले सम्झने गरेका छन्।

पछिल्लो दशक सिंगापुरले गरेको प्रगति संसारकै लागि उदाहरण बन्ने गरेका छन्। यस प्रगतिमा केन्द्रीय सरकारको भूमिका त महत्त्वपूर्ण हुँदै हो। साथमा आम नागरिक र स्थानीयको भूमिका पनि त्यत्तिकै छ।

सिंगापुरको पश्चिमी जिल्ला बुकिट गोम्बाककी मेयर लो योन लीङलाई उदाहरणीय मेयर मान्न थालिएको छ। उनको कार्यकालमा शिक्षा क्षेत्र र विपन्न वर्गको जीवनस्तर उकास्ने योजनामा धेरै सफलता देखिएको छ।

सन् २०११ मा उनको कार्यकाल सुरु हुनुभन्दा अगाडिको भन्दा त्यहाँको जीवन स्तरमा धेरै नै सुधार पाइएको छ। बच्चाहरू खेल्नका लागि गोम्ब्याक पार्क त्यहाँको आकर्षण बनेको छ। उनको कार्यकालको अर्को चासो शिक्षा क्षेत्र हो। उनले यसक्रममा महिला शिक्षालाई बढी जोड दिएकी छिन्। लोले पढाइलाई निरन्तरता दिन अप्ठेरो भएका बच्चालाई लक्षित गर्दै स्टुडेन्ट केयर सेन्टरको स्थापना गरेकी छिन्।

विपन्न वर्गका लागि सहयोग गर्नका लागि उनले एउटा फन्ड तयार गरेकी थिइन्। यसले अप्ठेरो परेको समयमा त्यहाँका नागरिकले सहयोग पाउने गरेका छन्। यो फन्डले कोरोना महामारीमा पनि धेरै काम गरेको थियो। यसै फन्डले सामाजिक सहयोग गर्नुका साथै वर्कसप र शिक्षाका काम पनि गरेको थियो।

एउटा मेयरले समाजलाई कसरी परिवर्तन गर्नसक्छ भन्ने कुराको उदाहरण ती मेयर भएकी छन्। उनको कार्यकालमा सबैभन्दा महत्त्वपूर्ण विषय भनेको उनले थालेको जीवन उपयोगी र घरेलु शिक्षा हो। जीवन यापनका लागि अति आवश्यक पर्ने सीप उनका मुख्य मुद्दाका विषय बने। शिक्षा क्षेत्रमा उनको यो नवीन सोचले थप लोकप्रिय बनाउँदै लगेको छ।

प्रशान्त महासागरको छेउमा कि दोस्रो च्यानलमा तोकुसिमा सहर छ। यसै सहरले केही वर्ष अगाडि युवा व्यक्तित्व सवाको नाइटोलाई मेयरमा निर्वाचित गरेको थियो। उनले जापानको कान्छी मेयरको रूपमा आफूलाई स्थापित गरेकी थिइन्।

राज्यको विभिन्न काउन्सिलमा काम गर्दा प्राप्त अनुभवलाई आधार मानेर उनी शिक्षा, स्वास्थ्य,लैङ्गिक समानता तथा अपाङ्गको जीवनस्तरमा आफूलाई केन्द्रित गरेकी थिइन्।

कम उमेरको हुनुका बाबजुद उनले चालेको केही कदमलाई अति नै बोल्ड निर्णय मान्न थालिएको छ। महिला सुदृढीकरणका विषयलाई उनले प्राथमिकता दिएकी थिइन्। मोबाइल एपमार्फत् बच्चालाई आवश्यक परेको समयमा काउन्सीलीङ गर्ने उनले नयाँ नीति लिएकी छिन्।

उनले शिक्षालाई नयाँ ढङ्गले व्याख्या गरिन्। बच्चालाई बाल्यकालदेखि नै विज्ञान, प्रविधि इन्जिनीयरीङ, कला र गणितलाई प्राथमिकताका साथ शिक्षाका विषय बनाइन्। नाइटोले आफ्नो सहरको आर्थिक अवस्थामा सुधार नभएसम्म सुविधा बापतको ५० प्रतिशत रकम आफूले नलिने घोषणा गरिन्। यी प्रगतिशील र क्रान्तिकारी छवि भएकी नाइटो पनि स्वतन्त्र उम्मेदवार हुद्दै मेयर भएकी हुन्।

लन्डनमा रहेको हुँदै ट्याङ्कले द सिटी मेयर फाउन्डेसनले गत वर्ष ग्रग्नी इनका मेयर फिलीप रियोलाई पनि उनको सफल कार्यकाल र उनले गरेको कामका लागि उत्कृष्ट मेयर चयन गरेको छ।

फिलीपका साथमा डच सहर रोटरड्यामका अहमद अबौतलेबलाई पनि उत्कृष्ट चयन गरिएको छ। ग्रीग्नी फ्रान्सको गरिब सहर मध्यको एक हो। गत वर्ष कोभिड महामारीले संसारलाई असर गरिरहेको समयमा उनले सारेको मेयर परियोजना महत्त्वपूर्ण र चर्चित थियो। उनले एउटा वेब एपमार्फत धेरै काम गरेका थिए। त्यस समयमा उनले कोभिड सङ्क्रमितको उपचारलाई व्यवस्थित गरेकाले पनि धेरैको वाहवाह पाएका थिए। घरमै आइसोलेसनमा रहेका व्यक्तिलाई पनि उनले फोनबाटै सबै जानकारी दिने र आवश्यक सहयोग गर्ने गरेका थिए।

मोरक्कोमा जन्मिएका अबौतलेब भने नेदरल्यान्डका चर्चित पत्रकारसमेत हुन्। पत्रकारितामार्फत् राजनीतिमा होमिएका उनको बाल्यकाल गरिबी र सङ्घर्षमा बितेको थियो। बाल्यकालदेखि नै उनको स्वभाव अरूको भन्दा फरक थियो। केही कुरा जान्न र सिक्न चाहने उनको अचम्मको बानी थियो। ३१ अक्टोबर २००८ मा उनी रोटडममा मेयर घोषित भएका थिए।

सन् २०१० को मध्यमा क्यानडाको कालागारी सहरमा मेयर नहिद नेन्सीको अत्यन्त बढी चर्चा हुने गरेको थियो। जनप्रिय काम गरेकै कारण उनको त्यसरी चर्चा भएको हो। मेयर फाउन्डेसनले सन् २०१५ मा उनलाई लोकप्रिय र सफल मेयर घोषणा गरेको थियो। संयोग नै मान्नुपर्छ यी उत्कृष्ट मेयर पनि अबैतलेब जस्तै आप्रवासी पृष्ठभूमिकी हुन्।

नहीद नेन्सीका अभिभावक तान्जानीयाबाट क्यानडा आएकी हुन्। क्यानडामा मुस्लिम, त्यसमाथि पनि आप्रवासीले सत्ताको मेयरको जिम्मेवारी पाउनु चानचुने थिएन। त्यस जिम्मेवारीलाई नेन्सीले यसरी पुरा गरे। उनको काम गर्ने तरिकाबाट धेरै उत्तर अमेरिकीहरू सुरुवातदेखि नै प्रभावित भए। उनको अनुशरण गर्नेको भिड नै लागेको थियो। उत्तर अमेरिकामा विकासको नयाँ मोडल तयार गर्ने समयमा उनको अनुसरण गर्नेको ठूलो जमात नै हुन थाल्यो।

सन् २०१० मा उनी मेयर निर्वाचित भएका हुन्। दूर स्थानको मेयर भए पनि उनको चर्चा र लोकप्रियता क्यानडाका ठुला सहरमा फैलन थालेको थियो। सिङ्गो क्यानडामा मेयर होस् त क्यानडाको जस्तो भन्ने भनाइ नै सुरु भएको थियो।

उनी सहजै निर्वाचित भएका भने पक्कै होइनन्। मत सर्वेक्षण अनुसार निर्वाचनको ६ साता अगाडि ८ प्रतिशत मात्र मतदाता उनको पक्षमा थिए। सामाजिक सञ्जालमा उनले चलाएको अभियान यत्ति धेरै प्रभावकारी भयो कि त्यसै अभियानका कारण उनी दुई तिहाइ मत पाएर विजयी भए।

सामाजिक सञ्जालमा राम्रोसँग प्रयोग गरेका उनले सबै पिछडिएको परिवारको घरमै पुगेर आफ्नो अभियानमा सहमत गराएका थिए।

राजनीतिमा आउनु अगाडि नेन्सीले थुप्रै कर्पोरेट कम्पनीमा काम गरेको थिए। धेरै स्थानमा उनी सल्लाहकार पनि थिए। टेलिकम्नीकेसन, बैङ्किङ र रिटेलरका साथै तेल ग्यास उत्पादक कम्पनीमा उनले काम गरेका थिए। जागिरे जिन्दगी छाडेर उनले आफ्नै स्वामित्वमा रहनेगरी एसकेन्द ग्रुप सञ्चालनमा ल्याएका थिए। उनले गैर नाफा मूलक संस्था काग्लारी एसोसिएसनको स्थापन गरेपछि उनी सामाजिक जीवनमा छाउन थालेका थिए। त्यस एसोसिएसनले बालबालिकाको सुरक्षित भविष्य र क्षमता विकासका लागि काम गर्दै आएको थियो।

आफू अध्ययन गरेका कलेजका विद्यार्थी युनियनमा भने उनी सभापति थिए। पढाइ सकिएपछि व्यावसायिक जिन्दगीमा केन्द्रित उनले मेयरको उम्मेदवार हुने बित्तिकै ठूला सिद्धान्तका कुरा छाडेर व्यक्तिका जीवनका सामान्य समस्याका बारे सोच्न थालेका थिए। उनका योजनामा यी नै कुरा थिए ।

आफूले देख्ने गरेको नर्स, लुगा सिउने सूचीकार र ज्यामी काम गर्ने मजदुर उनका प्राथमिकतामा परेका थिए। यिनलाई हेरेर नेन्सीले आर्थिक रूपले सफल सहरको योजना बनाएका थिए। आर्थिक सम्पन्नतासँगै उनले वितरण प्रणालीलाई पनि सन्तुलित बनाएका थिए।

यस्ता थुप्रै उदाहरण छन्, जसले मेयरको रूपमा आफ्नो सहरको मुहार फेरेका छन्। काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ। अहिलेसम्म अग्रता कायम गरेका बालेन्द्र शाहको अग्रता अन्तिम समयसम्म कायम रहनसक्छ या सक्दैन भन्ने निक्र्यौल गर्न त पर्खनै पर्छ। जित हात पारेमा पनि उनका लागि कम चुनौतीपूर्ण पक्कै हुने छैन।

कर्मचारीतन्त्र र पुराना राजनीतिकर्मीको जन्जालको बीचमा काम सहज त पक्कै छैन। तर, पनि दृढ इच्छा शक्ति भएमा राम्रो काम गर्न सम्भव छ भन्ने संसारका धेरै सहरका मेयरले कठिन अवस्थामा पनि पुष्टि गरी सकेका छन्। निर्वाचनमा सफलता पाए यी सबै मेयर सायद बालेन्द्र शाहका लागि प्रेरणाका श्रोत बन्न सक्नेछन्। स्रोतः इन्डिया टुडे, युसीएलजी, फ्रान्स २४,कनेक्सन फ्रान्स र ब्लुमबर्ग लगायत एजेन्सी