समाचार

बलात्कारको आरोप लागेका सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतले गर्‍यो बदर

By खबरहब

May 17, 2022

काठमाडौँ– आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई सफाइ दिने फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ ।

मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसलालाई बदर गर्दै पुनः प्रमाण हेरेर पुनः फैसला गर्न आदेश दिएको हो ।

वि.सं. २०७७ मंसिर २२ गते सिद्दबाबालाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई सहमतिमा भएको यौन सम्पर्कलाई बलात्कार भन्न नमिल्ने भन्दै फैसला सुनाएको थियो ।

जिल्ला अदालतको यो फैसलापछि पीडित महिला उच्च अदालत गएकी थिइन् ।

पीडित महिलाले २०७६ कार्तिक ४ गते सिद्दबाबाले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । उनले आफूले गुरु मानेका सिद्दबाबाले राति बलात्कार गरेको दाबी गरेकी थिइन् ।