यो मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं। यो एलर्जी उमेर समूहका मानिसलाई पनि हुने गर्छ। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ। वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने देखाएको छ।
बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयस्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको अध्ययनबाट देखिन्छ। अमेरिकन कलेज अफ एलर्जी, आस्थामा र इम्यूनोलोजीको रिपोर्ट अनुसार विश्वमा १० देखि २० प्रतिशत बालबालिकामा एलर्जी हुन्छ भने १ देखि ३ प्रतिशत वयस्कमा पनि यो रोग देखिन्छ।
मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने गर्छ। खाना, धुलो, फूलको कण, वनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ। एलर्जी शरीरको जुनसुकै भागमा हुने भए पनि खुला भागमा बढी एलर्जी देखिने गर्छ।
पछिल्लो समय छालामा आउने सबै समस्यालाई एलर्जीका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ। तर, सबै डाबर आउने समस्या एलर्जी हुँदैन। एलर्जी हुँदा सुरुमा सानासाना डाबर आउँछन्, विस्तारै डाबर बढ्दै गएर ठूलो भागमा फैलिने गर्दछन्।
गर्मीयाममा छालामा देखिने अरु समस्या गर्मी सिजनमा छालामा विभिन्न प्रकारका समस्या देखिन्छन्। यसमध्ये फंगल इन्फेक्सन सबैभन्दा बढी समस्या हो। जाडोयाममा भन्दा गर्मीयाममा फंगल इन्फेक्सन बढी हुनेगर्छ।
गर्मीयामा पसिना धेरै आउने हुँदा सरसफाइमा ध्यान दिइएन भने फंगल इन्फेक्सन हुने गर्छ। फंगल इन्फेक्सन संक्रमित व्यक्तिको कपडा, जुत्ता अर्को व्यक्तिले प्रयोग गर्यो भने संक्रमण हुने गर्छ।
यो सिजनमा पिम्पलको समस्या पनि धेरै देखिन्छ। हाम्रो स्किनमा ग्लान्डले नेचुरल ओइल उत्पादन गरिरहेको हुन्छन्। पसिनासँग हाम्रो छालाबाट निस्किएको ओइल मिसिएर ब्रेक आउट पनि धेरै देखिन्छ। र, घामले गर्दा पोतो र एलर्जी पनि धेरै बढ्ने गर्छ।
गर्मीयाममा समस्या बढ्नुको कारण गर्मीयाममा घाम धेरै हुने भएकाले घामले गर्दा फोटोड्रामाटाइटिस हुन्छ। घामले गर्दा छालामा इन्फालमेसन, रातो हुने, दाग आउने हुन्छ। पसिना धेरै आउने भएकाले बडीको फोल्डमा महिलाको ब्रेस्टको मुनि, घाँटीमुनी, कापमा पास्ने हुन्छ।
यो सिजनमा प्लान्ट एलर्जी र एनिमल एलजीको पनि समस्या देखिने गर्छ। प्लान्ट बाट पलेन्टस र एनिमलफरले बढी मात्रामा एलर्जी गराउँछ।
देखा पर्ने लक्षण एलर्जी र फंगल इन्फेक्सन दुबैको कारणले छालामा रातो दाग देखा पर्ने, चिलाउने हुन्छ। फंगल इन्फेक्सन दुई किसिमको हुन्छ। (चिलाउने र नचिलाउने) हामीले यसलाई कमन भाषामा दाद भन्छौ। गोलो गोलो चक्का जस्तो छालामा दाग देखापर्छ।
यो एकदमै चिलाउने खालको हुन्छ। छालाको नर्मल टोन भन्दा अलिकति कालो या अलिकती सेतो दाग देखा पर्छ। यो मुख्यतः काखीमा, घाँटीमा, छातीको क्षेत्रबाट सुरु भएर अन्य ठाउँमा फैलिने हुन्छ। यो नचिलाउने खालको फंगल इन्फेक्सन हो।
सबै व्यक्तिलाई थाहा नहुन पनि सक्छ। धेरै जनाले यसलाई दाद मात्रै भनेर बुझ्नु हुन्छ। सेतो दाग आएको छ भने धेरै जनाले दुबी आएको ठान्नुहुन्छ। तर, धेरै लामो समयसम्म ठिक नभएपछि मात्र उपचारको लागि आउनुहुन्छ।
गर्मीयाममा फंगल इन्फेक्सन बढी जाडोयाममा भन्दा गर्मीयाममा धेरै पसिना आउने भएकाले यो समस्या बढी देखिएको हो। हाम्रो बडी फोल्डमा पसिना जमेर बसेको हुन्छ।
सरसफाइमा ध्यान दिइएन भने पसिनासँगै इन्फेक्सन पनि बल्झिएर आउँछ। चिसोमा फंगस ग्रो हुँदैन। गर्मीयाममा फंगस धेरै ग्रो हुन्छ र इन्फेक्सन बढ्छ।
छालाको एलर्जी कस्तो व्यक्तिमा बढी छालाको एलर्जी कसैलाई जेनेटिक नै हुन्छ। कसैमा जेनेटिक टेन्डेन्सी बढी हुन्छ। घाममा सबै जना बस्छन्। तर, घाममा बस्ने बित्तिकै सबैलाई एलर्जी हुँदैन। कोही जेनेटिकल्ली प्रिडिस्पोज हुन्छ। कसैलाई घामको एलर्जी छ भने एक घण्टा घाममा बस्न साथ एलर्जी आउने हुन्छ।
घामको एलर्जी नहुने व्यक्ति पनि लामो समय घाममा बस्यो भने छालालाई सेन्सेटिभ बनाएर रातो दाग आउन सक्छ। साथै सानो बच्चामा गर्मीको घमौरा देखिने गर्छ।
यो बालबालिकामा धेरै देखिने समस्या हो। यस्तो घमौरा चिलाउदैन। तर, सानो सानो डटहरु आउने गर्छ। सानो बच्चालाई चिसो हुन्छ भनेर बाक्लो लुगा लगाएर, गुम्साएर राख्ने गर्नाले पनि घमौरा आउने गर्छ।
फंगल इन्फेक्सन मोटो व्यक्तिमा बढी
मोटा व्यक्तिलाई धेरै पसिना आउने भएकाले बडी फोल्डमा जमेर बस्छ। मोटो महिलामा ब्रेस्टको मुनी, घाँटी, थाई र खुट्टाको बीचमा पसिना धेरै आउने हुदाँ फंगल इन्फेक्सन बढी देखिएको हो।
सुगर भएको व्यक्ति, गर्भवती महिला, ब्लड प्रेसर, थाइराइड, क्रोनिक डिजिज भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले भाइरल इन्फेक्सन र फंगल इन्फेक्सन बढी मात्रामा देखिन्छ।
समयमै उपचार नगर्दा जोखिम जुनसुकै समस्याको पनि समयमै उपचार गर्नु राम्रो हो। यो समस्याले जीवनमा समस्या ल्याउने हुँदैन। तर, लामो समयसम्म उपचार नगर्दा जटिल रुप लिनसक्छ।
छालाको सानो क्षेत्रमा भएको इन्फेक्सन ठूलो एरियामा फैलियो भने उपचार पनि लामो समय गर्नुपर्ने हुन्छ। सुरुमै ट्रिटमेन्ट गरियो भने सामान्य मल्हम मात्र लगाउँदा ठिक हुन्छ। तर, समयमा उपचार गरिएन भने लामो समयसम्म औषधि खानुपर्ने हुन्छ।
कसैलाई फंगल इन्फेक्सनसँगै ब्याक्टेरियल इन्फेक्सन पनि हुन्छ। यस्तो अवस्थामा एन्टिबायोटिक औषधि खानुपर्ने हुन्छ।
अस्पताल जानु पर्ने अवस्था छालामा चिलाउने वा नचिलाउने कुनै दाग देखापर्यो, बडी फोल्डमा दाग आएको छ र त्यो वरिपरीको स्किनमा पनि बढ्दै गएको छ भने दुख्ने खालको घमौरा आएको छ भने अस्पताल जानुपर्छ। कसैलाई चिलाउने, नचिलाउने सेतो, कालो दाग आएको छ समयमै उपचार गराउनुपर्छ।
घरमा नै गर्न सकिने सावधानी हामीले बिशेषगरी सरसफाइमा ध्यान दिनुपर्छ। दिनमा एकपटक नुहाउनु पर्छ। नुहाउन सकिएन भने रुमालले बडी पुछेर बडी लोसन लगाउनुपर्छ। एन्टिफंगल पाउडर बडी फोल्डमा लगाउन सकिन्छ।
एन्टिफंगल पाउडरले पसिनालाई सोस्ने र किटाणुको संक्रमण हुनबाट रोक्छ। पिम्पल आउने व्यक्तिले बिहान बेलुका मुख धुनुपर्छ। घरमा बस्दा या घरबाहिर निस्कदाँ सनब्लक क्रिम लगाउन सकिन्छ। हामीले सनब्लक लगाउँदा एसपीएफ ५० को लगाउदा प्राप्त हुन्छ। एसपीएफसँगै हामीले पिए फ्याक्टर पनि हेर्नुपर्छ।
एसपीएफ ५० सँगै पिए फ्याक्टर त्रिपल प्लस भएको सनब्लक लगाउँदा एकदमै राम्रो हुन्छ। सुख्खा छाला भएको व्यक्तिले क्रिम र चिल्लो छाला हुनेले जेल सनब्लक प्रयोग गर्नुपर्छ।
समस्या आउनै नदिन छालाको एलर्जी हुने व्यक्तिले उपयुक्त सनब्लकको प्रयोग गर्ने। घर बाहिर निस्कदाँ शरीर पुरै छोप्ने लुगा लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ। घामले मात्र नभई हाम्रो स्किनलाई वातावरणबाट आउने प्रदूषणले असर गर्छ।
फंगल इन्फेक्सनबाट हुने समस्याको लागि दिनहुँ नुहाउने गर्नुपर्छ। बच्चालाई धेरै लुगा लगाएर गुम्साएर राख्नु हुँदैन। बच्चालाई तेल लगाउँदा अतिरिक्त भर्जिन कोकोनट ओइल लगाउँदा सित्तल हुन्छ र घमौरा आउन पाउँदैन। (डा. उमा क्यालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)