अन्तर्राष्ट्रिय

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप 

By खबरहब

July 17, 2022

नयाँ दिल्ली- भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म  १९९ दशमलव ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।

यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।

कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडको पहिलो डोज खोप लगाएका छन्  भने ८७ प्रतिशतले दुवै डोज लिएका छन् ।

आवर वल्ड इन डाटाका अनुसार विश्वको कुल जनसंख्याको ६२ दशमलव १ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् । यस हप्ता केन्द्रीय  स्वास्थ्य मन्त्रालयले १८ वर्ष र माथिका मानिसहरूलाई बुस्टर डोजका लागि ७५ दिनको खोप अभियान सुरु गरेको छ । अहिलेसम्म लक्षित जनसंख्याको १८ देखि ५९ वर्ष समूहका १ प्रतिशतभन्दा कमले बुस्टर डोज लगाएका छन् ।

कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियान तीव्र पारेको छ ।