काठमाडौँ- मनिषा कोइराला बलिउडमा बलियो कम्ब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले विग ब्यानरको फिल्म पाएकी छैनन् । तर , आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ । कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको ‘शेहजादा’ मा मनीषा कोइराला पनि महत्त्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनीषाले तब्बुले निर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ ।
अल्लू अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमलु’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो । फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनीषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मसँगै ओटीटी जायन्ट नेटफ्लिक्सका लागि निर्देशक संजय लीला भन्सालीले निर्माण गरिरहेको वेब सिरिज ‘हिरामण्डी’ मा उनको महत्त्वपूर्ण भूमिका छ । निर्देशक भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’ मा मनीषाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।
आउँदो वर्ष यी दुई प्रोजेक्टमा देखिएसँगै बलिउडबाट विश्राममा रहेकी मनिषाको व्यस्तता बढ्ने अनुमान गरिएको छ । ‘शेहजादा’ बलिउडको मेनस्ट्रिममा मनिषाको महत्त्वपूर्ण कमब्याक हो । भारतमा पछिल्लो समय ओटीटीले प्रशस्त रूपमा ट्यालेन्ट अनुहारलाई स्थापित गरिरहेको छ । यद्यपि मनिषा भने स्वास्थ्य र आपसी कारणले बलिउडबाट विश्राममा थिइन् ।