अन्तर्वार्ता

‘ढिलो बिहे गर्दा बच्चा जन्माउन समस्या हुन सक्छ’

By विना न्यौपाने

August 17, 2022

गर्भावस्थाको उच्च जोखिम अर्थात् ‘हाईरिस्क प्रेग्नेन्सी’ समस्या बढिरहेको छ। गर्भवतीमा कुनै जोखिम देखियो भने त्यसलाई गर्भावस्थाको जोखिम भनिन्छ। गर्भवती भएको अवस्थामा ४ देखि ६ महिनासम्म मधुमेह, उच्च रक्तचाप भएका र दम भएका गर्भवती हुँदा पहिला पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरू मेडिकल समस्या आयो भने यस्तो अवस्थाको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भएको भनेर भन्ने गरिन्छ। जीवनशैली अथवा खानपानमा ध्यान नदिँदा समस्या थप बढेको छ। यसै विषयमा केन्द्रित रहेर शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ महिला रोग विशेषज्ञ डा.  निभा ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय गर्भावस्थाको उच्च जोखिम भनेर अत्यधिक चर्चामा आएको छ, यो समस्यालाई हामीले कसरी बुझ्ने ? हरेक गर्भावस्थालाई उच्च जोखिम अवस्था भनिन्छ किनभने कुनै पनि महिला प्रेग्नेन्सीको चिन्ता र अवस्थाले गर्दा उसको ज्यान जानसक्ने भएकोले उच्च जोखिम भन्छौँ। विशेष गरेर हामीले कुनै पनि महिलालाई उमेरको हिसाबले हेर्दा पहिलो प्रेग्नेन्सी ३५ वर्ष या त्यो भन्दा बढी र कम १७ वर्ष तिर भएमा त्यसलाई गर्भावस्थाको उच्च जोखिम भनेर भनेर भन्छौँ। कुनै महिलामा गर्भवती हुनु भन्दा अगाडि कुनै रोग छ, जस्तो पहिला नै डाइबेटिज छ, उच्च रक्तचाप छ। रक्तअल्पता वा पहिला मुटु तथा मिर्गौलाको रोग छ भने जोखिम हो। मोटोपन वा पातलो छ भने पनि गर्भावस्थाको उच्च जोखिम भनिन्छ।

गर्भावस्थाको उच्च जोखिमसम्बन्धी ध्यान दिन किन आवश्यक छ ? हरेक चिजको आफ्नो समय हुन्छ। त्यसैले महिलामा बिहे गर्न र बच्चा जन्माउनको लागि २० देखि ३० या ३५ वर्ष भनिन्छ। तर, अहिले महिला आफ्नो करियर बनाउने भनेर ढिलो विवाह गर्छन्। कतिपय महिला अल्लारे उमेर मानौ कुनै बाध्यतामा परेर वा केही नबुझेर विवाह बच्चा जन्माउँछन्। एउटा त महिलाले जन्मिदा नै सीमित अण्डा लिएर आएको हुन्छ र उसको प्रजनन क्षमता नै कम हुन्छ। गर्भवती भइहाल्यो भने पनि बच्चा गर्भपतन हुनसक्छ। सुगर प्रेसर पनि बढ्न सक्छ। त्यसैले समयमा नै ध्यान दिनु पर्दछ। खानपानले पनि महिलामा आफ्नो नर्मल तौल भन्दा बढी हुने हुन्छ। यसले बच्चा ठूलो हुने डाइबेटिज हुनसक्ने। नर्मल डेलिभरी नहुने सर्जरी गर्नुपर्ने हुन्छ।

कुन उमेरमा कति केजी तौल भयो भने गर्भवतीको लागि उपयुक्त तौल हुन्छ ? उपयुक्त तौल भनेर सरदरमा एउटा महिला ५ देखि ५.२ फिटको छ भने उसको उसको तौल ५५ देखि ५० भए राम्रो हुन्छ। कम्मरमा बढी बोसो लाग्यो भने वा पुरै शरीर मोटाउनु भन्दा पनि हाम्रो बीचको भाग मोटायो भने हामीले त्यसलाई मान्ने हुन्छ।

उच्च जोखिम अवस्थामा रहेका गर्भवतीले परीक्षण कुन कुन समयमा गर्नु पर्दछ ? योजना बनाउँदै हुनुहुन्छ भने आफू राम्रो स्वास्थ्यमा हुनु पर्दछ। यदि आफूमा प्रेसर, मुटुको रोग छ भने जाँच गर्ने कुनै औषधिहरू खाँदै हुनुहुन्छ भने सम्बन्धित डाक्टरको सल्लाहमा त्यो औषधि कसरी खाने भनेर समयमा नै सल्लाह लिने गर्नुपर्छ। समय समयमा जाँच गरौँ र केही समस्या भए पहिला नै पहिचान हुन्छ। जस्तो रक्तअल्पता छ भने उहाँले समयमा नै आइरन चक्की खान सक्नुहुन्छ।। समयमा नै उपचार गर्न सकिन्छ।

अस्पताल जान भन्दा पहिला नै यो जोखिम भयो भनेर कसरी थाहा पाउने ? कति जनाले थाहा नपाएर नै यो समस्या धेरै भएको हुन्छ। समय समयमा पेट दुख्ने भयो र रगतको र्छिका देखियो भने पनि हाई ब्लड प्रेसर भएर टाउको दुख्यो ज्वरो आयो। हात खुट्टा बढी चिलायो र आफ्नो बच्चा नबढेको जस्तो लाग्यो पहिलाको तुलनामा कम चल्यो भने तुरुन्त अस्पताल जानु पर्दछ।

यो जुनसुकै समयमा पनि देखिने हो कि यसको पनि समय हुन्छ ? सुरुमा खाना खान मन नलाग्ने हुनाले तौल घट्नसक्छ। पहिलो तिन महिना त्यसपछि सात महिना र त्यसपछि नौ महिना भनेर राख्छौँ। यो चारदेखि ५ महिनापछि समस्या बढी देखिने सम्भावना हुन्छ।

कति कति समयको फरकमा स्क्रेनिङ गर्नु पर्दछ, जाँच्नको लागि आफू ठिक छु कि छैन भनेर ? पहिला डब्ल्युएचओले चार पटक जँचाउनु पर्दछ भनेर नियम पनि बनाएको थियो। तर, अहिले आएर यो चार वटामै अडिएर बस्नु पर्दैन। चाहिने हिसाबले जचाउँदा हुन्छ। तर, कम्तीमा पनि एउटा गर्भवती भएपछि चार पटक जँचाउनु पर्दछ। गर्भवती भएको थाहा पाएपछि र जँचाउनु पर्दछ। तीन महिना तिर उसको रगतहरू सबै जाँच गरिन्छ र बच्चामा कुनै समस्या छ कि छैन भनेर जाँच गरिन्छ। पाँच महिनामा बच्चा सही रूपले विकास भएको छ कि छैन हात खुट्टा टाउको बनेको छ कि छैन भनेर अल्ट्रासाउन्ड गराउँछौँ। यो पाँच महिना भए पनि टिटानसको सुईहरू लगाउनु पर्ने हुन्छ आइरन क्याल्सियमहरू सुरु गरेका हुनु पर्दछ।

बच्चामा हुनुपर्ने जति तौल नहुनुको कारण के हो ? आमा सानो छ भने बच्चा पनि सानो हुन्छ। आमाले धेरै काम गर्नु पर्यो। पर्याप्त मात्रामा आराम भएन भने मुटुको रोगी छ। डाईबेटिज, उच्च रक्तचाप छ भने पनि बच्चा सानो हुन्छ। बच्चामा जाने साल नालमा समस्या छ भने पनि सानो हुन्छ। तर, बच्चा स्वस्थ छ भने हामी राख्छौँ। पानीको कमी छ र बच्चा मर्ने अवस्थामा छ भने पहिला नै निकाल्छौँ।

पछिल्लो समय अस्पतालमा महिलाले नर्मल डेलिभरी गर्न सकेको छैनन् यो के कारणले भएको हुन्छ ? यो अहिले नेपालमा मात्र होइन विश्वभरी नै यो समस्या भएको छ। मैले पढ्दा १०० महिलामा हेर्यो भने पाँचदेखि १० प्रतिशतमा मात्र सर्जरी हुन्थ्यो। तर, अहिले एउटा नर्मल भयो भने एउटा शल्यक्रिया गर्नुपर्ने अवस्था छ। यसको प्रमुख कारण महिलाहरूले ढिलो विवाह गर्ने हुनाले नर्मल गर्न सकिँदैन। पहिलाको जस्तो अहिले धेरै बच्चा जन्माउँदैनन् धेरै रिस्क नलिने शल्यक्रिया नै गर्न भन्नु हुन्छ। नर्मल भनेको नर्मल नै हो। अहिलेको ज्यानै जानसक्ने अवस्था छ। पाठेघर खुम्चिएन र बच्चा जन्मीसके पनि रगत जम्ने हुन्छ त्यसले धेरै समस्या ल्याउँछ। यदि सामान्य अवस्था छ भने नर्मल डेलिभरी नै गर्दा धेरै फाइदा हुन्छ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)