अन्तर्वार्ता

‘अब माटो, खाना र खेतीका लागि राजनीति गर्नुपर्छ’

By खबरहब

August 17, 2022

काठमाडौँ- कृषिविद् कृष्णप्रसाद पौडेल पनि राजनीतिमा होमिने तयारीमा छन् । उनले आउँदो प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । पार्टीगत रूपमा नेकपा एमालेसँग आस्था राख्ने उनी सकेसम्म दलीय प्रतिनिधित्व बन्ने र नसके स्वतन्त्र रूपमा उम्मेदवारी दिने निष्कर्षमा पुगेका हुन् । कृषि उत्पादन र खाद्यमा पछिल्लो समय अत्यधिक प्रयोग भइरहेको विषादी, यसले स्वास्थ्यमा गरिरहेको हानी र त्यसबाट जोगिनका लागि अर्गानिक उत्पादनमा अभियान चलाउँदै आएका कृषिविद् पौडेलको तयारीले नेपाली राजनीतिमा अर्को एक आशा जगाएको छ । कतै यो स्वतन्त्र युवाहरूले चलाएको लहरमा उनी मिसिन खोजेका मात्रै त होइनन् ? भन्ने प्रश्न पनि उठेको छ । पौडेलको उम्मेदवारी र चुनावी एजेन्डाका विषयमा खबरहबले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंले चितवनबाट उम्मेदवारी दिन खोज्नुको कारण र एजेन्डा के–के हुन् ? मैले चितवन क्षेत्र नं २ बाट उम्मेदवारीको दाबी गर्छु भनेर लामो समयदेखि राजनीतिक हिसाबले सक्रिय रुपमा भूमिका पनि खेलेको हुँ । निर्वाचनमा यो पटक पहिला भन्दा धेरै स्वतन्त्रको चर्चा चलिरहेको छ । नयाँ पार्टीहरू बन्ने प्रक्रिया भइरहेको छ । मैले लामो समयसम्म नेपालमा माटो, खाना र वातावरणलाई जोगाउने भन्ने मुद्दालाई राजनीतिकरण गर्नु पर्दछ भने । तर यो कुराहरूलाई बोलीमा मात्र सीमित राखेर कृषिलाई जोड दिऊँ भन्ने तर व्यवहारमा नल्याउने हुनाले मैले यो मुद्दालाई उठाएको हुँ ।

यो विषयमा अभियान चलाउने भन्दा अब राजनीतिमै प्रवेश गरेर नतिजा ल्याउन सकिन्छ भन्ने तपाईंको आशा वा एजेन्डा ? मेरो प्राथमिक कुरा भनेको यो खाद्य पदार्थमा जुन रसायनको प्रयोग गरिएको छ । त्यसलाई ध्यान दिएन भने अहिलेको संकटको सामना गर्न सक्दैनौँ किनभने यो आम मानिसको जनजीविकाको मुद्दा हो । आम मानिसको खाद्य सुरक्षाको प्रश्न हो । र, नेपालको सिंगो अर्थतन्त्रको प्रश्न हो । यो कुरालाई राजनीतिले ग्रहण गर्नु पर्ने हो । तर त्यो गरेन । म जस्तो ६० वर्षको मान्छे राजनीतिमा यो मुद्दाहरू स्थापना गर्नुपर्छ भनेर उठ्नु पर्ने अवस्था आयो ।

अब सजिलो गरी तपाईं राजनीतिमा आउन लागेपछि आयातित तरकारीमा विषादीको मात्रा उच्च छ । जसले नेपालीलाई रोगी बनाएको छ । अनि त्यो रोगको उपचार झन् महँगो छ । यसलाई कसरी आम नागरिकतालाई बुझाउनुहुन्छ ? यो राजनीतिक प्रक्रियामा प्रणालीगत सुधार गर्नु पर्दछ । राजनीति अहिले आम जनताको जीवनसँग जोडिएर आम मतादाताले राजनीतिलाई त्यो हिसाबले लिने कुरा आएन । युवामा राजनीतिप्रति एक किसिमको वितृष्णा देखियो । मैले यो विषयका लागि चार वटा मुद्दालाई लिएको छु ।

पहिलो, खाना र माटोलाई विषादीमुक्त गराउनुपर्छ । दोस्रो, बाहिरबाट खर्बौँ रुपैयाँको सामान ल्याउँछौ र हाम्रा धेरै युवाहरू खाडीमा गएर दुःख गरेका छन् । त्यसमा उनीहरूलाई प्राथमिकता दिनु पर्दछ । समग्र विकासलाई हेरेर आयात गर्ने साधनहरूलाई सीमित मात्रामा गरेर आजको विकासको ढाँचा सबै नेपालीलाई पुग्ने छ त । त्यसलाई सबै नेपालीलाई समान ढङ्गले स्थानीयकरण गर्नु पर्दछ ।तेस्रो, राम्रो दृष्टिकोण, संयन्त्र र त्यसको उपयुक्त कर्ताहरू चाहियो । अहिलेको सिङ्गो राजनीति र कर्मचारीतन्त्रलाई निजामतीतर्फ मात्र लिनु हुँदैन सिङ्गो परम्परागत र माथिको आदेश मान्ने बनाउनु पर्दछ । यदि त्यसो गरिएन भने देशको उन्नतिको ढाँचा कोर्न सकिँदैन ।किनभने हामीले जति नीति योजनाहरू बनाउँछौँ त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी स्थायी सरकारको हो ।

चौथो भनेको राजनीतिको अहिलेको गडबडी हो । यो राजनीतिलाई हेर्ने अहिलेको दृष्टिकोण जनतासँग नजोडिने, आम मानिसलाई प्रभाव पार्ने कुराहरूप्रति संवेदनशील नहुने । या त उ त्यो सबैमा हराएको छ । या त्यो देखेर पनि नदेखेको जस्तो गरेको छ । यस्तै पारा हो भने युवाहरू यो देशमा भविष्य छैन भनेर बाहिर जानु पर्ने अवस्था छ । त्यसैले मैले सिङ्गो युवा समुदायलाई राजनीतिकरण गर्ने प्रक्रियामा सहजीकरण गर्ने गर्नु पर्दछ भन्छु । राजनीतिमा युवा र महिलाहरूको हस्तक्षेपलाई स्थापित नगर्ने हो भने हाम्रो लोकतन्त्र बलियो हुँदैन ।

राजनीतिमा युवा र महिलालाई आकर्षित गर्ने कुरा उनीहरूलाई कसरी बुझाउनुहुन्छ ? बाहिर अभियान गर्दा पनि हुन्छ भनिन्छ । तर मैले यो बाटो नै रोजे किन भने जहाँ हामीले योगदान गर्न सक्छौँ, त्यहाँ आफ्नो भूमिकालाई प्रभावकारी बनाउने क्षेत्र हो । म एउटा उमेरले पनि ६० वर्षको पाको र बिचार सोच र ऊर्जाको हिसाबले समाजलाई के कारणले कस्तो कमजोरीले विकास गर्न सकेनौँ भनेर यसलाई एउटा सामाजिक दायित्वको रूपमा ठानेर आएको छु । खाना र खेतीमा राजनीतिकरण गर्नु पर्दछ । तर अहिले राजनीतिकरण भनेर त्यसमाथि खेलबाड गर्ने भन्ने बुझिन्छ । तर मैले भनेको यी आम मान्छेका जीवनका सवालहरूलाई राजनीतिक प्रणालीसँग जोड्ने र जिम्मेवार बनाउने हो ।

तपाईंले थालेको अभियान आम नागरिकलाई बुझाउनै बाँकी छ । सबैले बुझ्न पनि बाँकी छ । यतिबेला त्यसलाई चुनावी एजेन्डा बनाएर कृषि उत्पादन, अर्गानिक खानाको प्रयोग र विषादीमुक्त बनाउने कुरालाई कसरी आम नागरिकसमक्ष लैजानुहुन्छ, मुख्य प्रश्न त्यो हो ? यसका लागि सबैलाई मैले दुई वटा प्रश्न गरेको छु। पहिलो हामी सबैले विषादीको प्रयोग गरेर माटो र जीवनशैली बिगारेका छौँ । भोलि भावी पुस्ताले पनि भोगोस् भन्न चाहनुहुन्छ ? दोस्रो, आजको राजनीतिमा लामो समयसम्म संलग्न भएको समूहले, नेताले यो कुरा उठायो कि उठाएन ? भनेर सोध्दा यो कुरा थाहा हुन्छ । मैले यो कुरालाई सार्वजनिक सम्पत्तिको रूपले सबैलाई म यो कुराहरूलाई लिएर आउँदै छु भनेर संसदीय निर्वाचनमा उम्मेदवार हुने दाबी गरेको हो । मेरो कुरा के हो भने माटो र खाना नजोगाई देश जोगिन्छ भने पनि कुरा नगरौँ । हाम्रो विकासलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन नगरी सबैको लागि विकास हुन्छ भने बिचार गरौँ । हाम्रो स्थायी सरकारको जुन कर्मचारीतन्त्र छ भनसुन लेनदेन र माथिको आदेशमा चल्ने यसलाई नसच्याई हुँदैन भन्ने कुरा पनि गरौँ । युवा पुस्ताले राजनीतिमा हस्तक्षेप नगरी जाने हो भने बेथिति सच्याउन सकिन्छ कि सकिँदैन भनेर मनन गरौँ ।

अन्तिममा, आम नागरिकलाई के आह्वान गर्नुहुन्छ ? आम जन समुदायलाई मैले यो राजनीतिक प्रणालीमा विवेकशील व्यक्तिको आवश्यकता छ । त्यसका लागि म पनि एउटा उम्मेदवारीको तयारी गरिरहेको छु । म यहाँहरूको भरोसा टुट्न दिन्न ।(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)