राजनीति

परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता

By खबरहब

August 17, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिए। भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको विकास निर्माण र लोकतान्त्रिकरणमा बेलायतले निरन्तर गरिरहेको सहयोगको प्रशंसा गरे।

साथै उनीहरूबीच नेपाली वायुसेवालाई युरोपेली युनियन (इयु) ले गरेको कालो सूचीबाट हटाउने विषयमा छलफल भएको थियो । इयुले नेपाली वायुसेवालाई कालो सूचीमा राख्दा बेलायतमा समेत नेपाली वायुसेवाले उडान भर्न सकेको छैन ।

सो अवसरमा राजदूत पोलिटले नेपालको विकास निर्माणका साथै प्रजातन्त्र र मानवअधिकारका क्षेत्रमा बेलायतको  सहयोग  जारी रहने बताएका थिए ।