अन्तर्वार्ता

खुत्रुकेको पैसा बोकेर मुम्बईमा सिनेमाटोग्राफी शिक्षा

By सेसेमी लिम्बु

September 17, 2022

चलचित्र र टेलिभिजनमा कथा चित्रित गर्न एक्सन कटमा मात्र सिमित हुँदैन। चलचित्रमा समावेश गरिएका कथावस्तु अथवा दृश्य कसरी क्याप्चर गर्ने भन्ने कुराले पनि ठूलो भूमिका खेल्छ। यस्ता कार्यहरु कार्यान्वयन हुनेलाई सिनेम्याटोग्राफी भनिन्छ। सिनेम्याटोग्राफी भनेको मोशन पिक्चर वा टेलिभिजन शोमा फोटोग्राफी र भिजुअल स्टोरीटेलिंगको कला हो। सिनेम्याटोग्राफीमा लाइटिङ, फ्रेमिङ, कम्पोजिसन, क्यामेरा मोसन, क्यामेरा एंगल, फिल्म सेलेक्सन, लेन्स च्वाइस, जुम, फोकस, कलर, एक्सपोजर र फिल्टरेसन लगायत सबै स्क्रिनमा देखिने भिजुअल तत्वहरु समावेश छन्। सिनेम्याटोग्राफीले फिल्मको दृश्य आख्यानका समग्र लुक र मुडलाई समर्थन गर्दछ। फिल्म महत्वपूर्ण पक्ष सिनेमाटोग्राफीमा लामो समयदेखि संलग्न हुँदै आएका नेपाली सिनेमाटोग्राफर हुन् रामकुमार के.सी.। उनले छायांकन गरेका विभिन्न चलचित्रमा आफ्नो स्तरीय साबित गरिसकेका छन्। नेपालमा सार्वाधिक रुचाइएका नेपाली चलचित्र कोहिनूर, हँसिया, ह्याप्पी डेज, वीर विक्रम जस्ता अन्य धेरै प्रोजेक्टमा सिनेमाटग्राफी गरिसकेका छन्। सिनेमाटोग्राफर के.सी.सँग खबरहबका लागि सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंश :

म्युजिक भिडियो र फिल्मको छायांकन गर्ने समयको अवधि फरक हुँदा काम गर्न कुन सहज लाग्छ ? वास्तवमा एउटा सिनेमाटोग्राफरको काम भनेको म्युजिक भिडियो र फिल्म दुबैमा क्यामेरा चलाउने नै हो। तर, म्युजिक भिडियो पनि स्तरीय रुपमा बनाउने भनेर धेरै मिहिनेत गरेर बनाउने हो भने गार्हो हुने नै हुन्छ। कुनै सानो प्रोजेक्ट बनाउदा ठिकै हुन्छ। त्यसैगरी चलचित्र पनि धेरै लगानी गरेर एकदम भव्य बनाउने काम गरेको खण्डमा त्यस्तै किसिमका चुनौती हुन्छ।

एउटा बिहेको भिडियो छायांकन गर्दै अस्सिस्टेन्ट सिनेमाटोग्राफर हुँदै फिल्मी क्षेत्रमा प्रवेश गर्नुभयो। सिनेमाटोग्राफी क्षेत्रमा के कुराबाट प्रभावित भएर सुरु गर्नुभयो ? जब मान्छेले जन्म लिन्छ त्यति बेला उसले केही पनि सिकेको हुँदैन। विस्तारै समयसँगै जस्तो परिस्थितिबाट गुज्रिदै जान्छ र सोही किसिमको संगत भएपछि ऊ त्यही कुराप्रति आकर्षित हुँदै जाने हो। म पनि स्कुल पढ्दापढ्दै बिदाको समयमा मेरो दिदीकोमा जाने गर्थे। त्यहाँ मेरो फोटोग्राफरसँग संगत हुन थाल्यो। त्यसछि रहर लाग्न थाल्यो र मैले केही सिक्न थालेँ। मैले एसएलसी सकेपछि म बिहे पार्टी तिर अस्सिस्टेन्टको रुपमा काम गर्न जान थालेँ। मैले नेपाली सिनेमामा केही गर्ने निर्णय गरेँ। मैले धेरै प्रोडक्सन हाउसमा गएर कुरा राखेँ। तर, नयाँ मान्छे भनेर मलाई कसैले पनि विश्वास गरेनन्। त्यसपछि म खुत्रुक्केमा जम्मा गरेर राखेको पैसा निकालेर राति घरर्को झ्यालबाट हाम फालेर म मुम्बाई गए। त्यहाँ मैले नेशनल इन्स्टिट्युट्मा सिनेमाटोग्राफीको कोर्स गरेँ। त्यसपछि सिरियल तिर काम गर्न थालेँ। त्यही क्रममा इन्डियाको लोकप्रिय सिरियल कसौटी जिन्दगीको अन्तिम चरण तिरको भाग छायांकन पनि गरेको थिएँ। त्यसपछि केही अनुभव बटुलेर म नेपालमा काम सुरु गर्छु भनेर नेपाल आएँ।

अध्यन गर्नुअघि गर्दाको सिनेमाटोग्राफी र अध्यन पश्चात कस्तो फरकपन पाउनुभयो ? विवाहमा क्यामेरा ह्यान्डल गर्न मात्र पर्थ्यो। सिन्दुर हालिएका अथवा अन्य क्षण जे हुन्थ्यो तिनीहरुलाई खिच्ने काम हुन्थ्यो। क्यामेराका प्राविधिक कुरा पनि त्यति तीव्र हुन्न थिए। तर, सिकिसकेपछि क्यामेरा चलाउने भन्दा पनि क्यामेरा भित्र कस्तो कस्तो चिजहरु क्याप्चर गर्न सकिँदो रहेछ र सिनेमा छवि सिर्जना गर्न कसरी चलचित्र र भिडियो प्रविधि प्रयोग गर्ने भन्ने कुरा सिकियो। साथै क्यामेरा, प्रकाश प्रविधि, सम्पादन शैली र प्रोजेक्ट सुट गर्नका लागि चाहिने सीपहरू विकास गर्न पनि अध्यन गरे पश्चात धेरै सजिलो भयो।

मुम्बई र नेपालको काम गर्ने शैलीमा के फरक पाउनु भयो ? हलिउड होस् बलिउड वा कलिउड जतै पनि काम गर्ने शैलीमा फरक भनेको एउटै मात्र हो, लगानी। त्यहा बढी लगानी हुन्छ र लगानी बढी भएपछि सुविधा पनि राम्रो हुने भयो। क्यामेरा पनि गुणस्तरीय र महङ्गा प्रयोग गर्न सकिन्छ। धेरै सुविधा भएपछि सञ्चालन गर्न पनि सहज हुने भयो। लाइटिङ्गमा पनि यत्ति प्रयोग गर्नुपर्छ भन्ने सीमा हुँदैन जसले गर्दा नतिजा पनि राम्रो ल्याउन सकिन्छ। त्यसैगरी त्यहा हरेक कलाकार डिप्लोमा गरेर आएका हुन्छ्न्। उनीहरुलाई दृश्य बुझाएपछि केही सिकाउनु पर्दैन। तर, यहा कोही कलाकारलाई सिकाउदा सिकाउँदै साँझ पर्छ। त्यहा निर्देशकबाट नै निर्देशन हुन्छ भने यहा कति ठाउँमा निर्देशकले निर्देशन गर्न नजानेको पनि देखिन्छ। कति ठाउँमा सिनेमाटोग्राफरलाई छायांकन गर्न नआएको पनि देखिन्छ। यी कुराहरुले गर्दा एउटाले गर्दा अर्कोलाई डाइभर्ट गरेको देख्छु। सबैले मिलेर काम गर्दै परिणाम राम्रो ल्याउन पर्ने तर एक दुई जनाले काम ह्यान्डल गरिरहँदा अरुले डाइभर्ट गर्ने गरेको पाएको छु। अहिलेको समयमा हेर्ने हो भने यहा निर्देशकले दृश्य लिने बेलामा कलाकारलाई खोज्नु पर्ने हुन्छ। कलाकार सबै टिकटक बनाउनमै व्यस्त भेटिन्छ्न्। यी कुराले गर्दा एउटा प्रोजेक्टको गुणस्तरीयतामा पनि फरक पार्ने गर्छ।

तपाईं काम गर्दा कुन समय बढी चुनौतीपूर्ण लाग्छ ? त्यो सिनेमा अझ चुनौतीपूर्ण हुन्छ, जहा फिल्मसँग आवद्ध भएका टिमभन्दा पनि आफैले प्रायजसो काम सम्हाल्नु पर्ने हुन्छ। यसै क्रममा म ह्याप्पी डेजको सुटिङको लागि यूके गएको थिएँ। त्यो बेला द्वन्द्व निर्देशक, फिल्म निर्देशक र असिस्टेन्ट निर्देशक हुनुहुन्थ्यो। काम सुरु गर्न लाग्दा सबै एक्लै नै काम गर्नु पर्यो। आफैंले ट्रली चलाउने, फोकस आफैले मिलाउनेदेखि लाइटिङ्गका काम सबै आफैले गर्नु पर्यो। तर, सिनेमा एकदम राम्रो बनेको थियो। मैले व्यक्तिगत रुपमा पनि मेरो सिनेमाटोग्राफीको लागि त्यस फिल्मबाट धेरै प्रसंशा पाएको थिए।

पछिलो समय फिल्म क्षेत्रमा कस्ताकुरा भित्रिएका छन् ? अहिले विभिन्न क्षेत्रबाट सिधै सामान्य काम गर्दागर्दै सिनेमाटोग्राफीतर्फ लम्किरहेका छन्। टिकटक बनाउदा बनाउँदै कलाकार भएका छन्। पर्दामा दर्शकले हेर्दा ती कुराहरु ठिकै देखेका छन्। तर, हामीलाई यी कुरा राम्रो लाग्दैन। कति ठाउँमा सुटिङकै क्रममा क्यामेरा चलिसकेपछि पनि कति कलाकार गोजीबाट फोन निकालेर बोल्दिने किसिमका व्यवाहार बढेका छन्। यस्ता क्रियाकलापले गर्दा पक्कै पनि नतिजा सोचेजस्तो नआएपछि निर्मातालाई घाटा हुन्छ। पछिल्लो समय यस्ता कुरा बढी हाबी भएको देखिन्छ।

सिनेमाटोग्राफीलाई तपाईं कसरी परिभाषित गर्नु हुन्छ ? क्यामेरा म्यान, सिनेमाटोग्राफर र डीओपी भनेर तीनवटा ग्रेडमा विभाजन गरिएको छ। मन लागे क्यामेरा म्यान भनेर लेखेका छन्। आफू खुशी सिनेमाटोग्राफर र डीओपी पनि लेखेका छन्। तर, यी कुरा भनेको फरक कुरा हुन्। जताजता खिच्नु पर्ने हो त्यतातिर क्यामेरा लगेर चलाउने व्यक्तिलाई क्यामेरा म्यान भन्ने हो भने सिनेमाटोग्राफरले क्यामेरा सम्बन्धी सम्पूर्ण ज्ञान हासिल गर्नु पर्यो। साथै चलचित्रको कथाले मागेको दिउँसोको अनुक्रम हो वा बिहान वा रातिको हो। त्यही स्थिति अनुसार लाइट मिलाएर खिच्नु पर्ने हुन्छ। साथै क्यामेरा र सिनेमाटोग्राफीमा पोख्त भएपछि ‘डिरेक्सन अफ फोटोग्राफी’ गर्न सकिने भयो। फिल्म निर्देशकको समन्वयमा सिनेमालाई कस्तो रुप दिने तथा विभिन्न दृश्यलाई कुन तरिकाले क्याप्चर गर्ने जस्ता दायित्व रहन्छन्।