प्रवास

साउदी अरबको पूर्वी क्षेत्रमा दूतावासले थप्यो कर्मचारी

By योगेन्द्र योगी

October 17, 2022

दोहा – रियादस्थित नेपाली दूतावासले साउदी अरबको पूर्वी क्षेत्रमा दुई जना कर्मचारी खटाएको छ।

यसअघि एक जना कर्मचारी खटाएको दूतावासले नेपाली कामदारहरूको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि थप एक कर्मचारी थपेको हो । यससँगै दूतावासका २ जना कर्मचारीले पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारहरूको समस्या समाधानका लागि पहल गर्ने दूतावासले जनाएको छ।

दमाम, जुवेल, अल खोबर, खब्जी, अलहासा लगायतका पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा गरिएको छ। सो क्षेत्रमा रहेका साउदी सरकारी निकाय (श्रम कार्यालय, अध्यागमन कार्यालय, जेल, डिपोर्टेशन सेन्टर, अदालत, प्रहरी, सरकारी अस्पताल इत्यादि) तथा रोजगारदाता कम्पनीसँग आवश्यक सम्पर्क एवम् समन्वय गरेर समस्या समाधानका लागि पहल गर्ने दूतावासले जनाएको छ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलालमार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको छ। यहाँ विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

कर्मचारीहरुको सम्पर्क विवरण निम्नानुसार रहेको छः १. नारायण पासवान- मोबाइल नं. ०५००० ८१ ५३६ २. अब्दुल रहीम- मोबाइल नं. ०५००० ७४ ३८६