फाइल फोटो

राजनीति

संसदीय निर्वाचनपछि देश श्रीलंका बन्छ : सिपी गजुरेल

By खबरहब

October 17, 2022

महोत्तरी – नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचन पछि नेपाल श्रीलंका हुने खतरा औँल्याएका छन्।

आइतबार सर्लाहीमा भएको भेलामा उनले संसदवादी व्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई प्रश्रय दिएको दाबी गरे।

नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलाले पनि संसदवादी दलहरूले देशलाई भड्खालोमा धकेल्दै गएको आरोप लगाए। ‘निर्वाचनमा भोट हालेर पठाएका नेताका कारण देशमा समृद्धि आउन सक्दैन,’ उनले भने, ‘भोट हालेर जिताएर देश लुट्न पठाउनुबाहेक केही छैन, त्यसैले आसन्न निर्वाचनलाइ बहिष्कार गरौं।’

संसदीय निर्वाचनमा सुकुम्बासीहरूलाई प्रयोग गर्ने र जितिसकेपछि वाचा भुलिदिने नेताको चरित्रप्रति प्रश्न उठाउँदै संयोजक बास्तोलाले उनीहरूले जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु भएको पनि जिकिर गरे।

अपराधमा मुछिएकाहरूसमेत संसदीय निर्वाचनमा खुलमखुल्ला होमिएको बताउँदै उनले यो जत्तिको घीनलाग्दो केही नभएको टिप्पणी गरे।