राजनीति

‘देशमा सुशासन कायम गर्न एमालेको सरकार आवश्यक’

By खबरहब

October 17, 2022

बारा– बारा-१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरको निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैको नेतृत्वको सरकार गठन हुनुपर्ने बताएका छन् । निजगढमा आइतबार आयोजित एमाले बारा-१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्तो बताएका हुन् ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका मैनालीले गठबन्धन सरकारले दलाल पुँजीपति वर्गको हितमा काम गरेको आरोप लगाउँदै चालू आर्थिक वर्षको बजेट समेत उनीहरूकै निर्देशनमा तयार पारेको बताए । उनले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढ्नुपर्ने पनि बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले केही कमीकमजोरीका बाबजुद एमाले देशको सबैभन्दा असल पार्टी रहेको दाबी गरे । उनले जनताले पनि यो कुरा मनन गर्नुपर्ने र आगामी निर्वाचनमा एमाले उम्मेदवारहरूलाई विजयी तुल्याउनु पर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी लगायतले बोलेका थिए ।