फाइल फोटो

राजनीति

‘संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्ने’

By खबरहब

October 17, 2022

सुर्खेत– संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको  समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन् । 

उपसभापति खड्काले भने, ‘विगतमा दुई/दुई पटक संसद् विघटन गरेर संविधान र व्यवस्थालाई नै असर पार्ने प्रयासलाई परास्त गर्न अहिलेको गठबन्धन बनेकाले संविधान र व्यवस्थाको रक्षासँगै देशको समृद्धिका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।’

‘देशलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने संकल्प गठबन्धनको रहेको र आगामी निर्वाचनपछि बलियो र स्थिर सरकार बनाउन पनि हाम्रा साझा उम्मेदवारलाई जिताउनुहोस्’, उनले भने ।

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहेका उपसभापति खड्काले आगामी मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा र जनताका अधिकार स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका दलले जिते मात्रै अहिलेको संविधान र व्यवस्थाको रक्षा हुने बताए ।

प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धन  बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउँदै  उनले सुर्खेतमा आफूहरूले सुरु गरेको विकास तथा निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच  पुर्‍याउने  काम आफ्नो ध्यानकेन्द्रित हुने उनको भनाइ थियो ।  

फरक प्रसङ्गमा उपसभापति खड्काले सुर्खेत विमानस्थल विस्तारका लागि केही प्राविधिक समस्या रहेको र यसबाट असर पर्ने नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताए। उनले विमानस्थल विस्तारका लागि अन्य वैकल्पिक ठाउँको पनि खोजी भएकाले यस विषयलाई लिएर राजनीति नगर्न आग्रह गरे ।