फाइल फोटो

समाचार

लुम्बिनीमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने

By खबरहब

October 17, 2022

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताएका छन् । प्रदेशमा प्रहरी ऐन पारित भइसकेकाले छिट्टै प्रहरी संरचना तयार गरिने बताए ।

उनले सङ्घात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरी सङ्गठन निर्माण गरी सङ्घ र प्रदेशलाई शान्ति, अमनचयन कायम गर्नका लागि ऐन पास भइसकेकाले अब सरकारले संरचनागत विकास गर्ने बताए ।  ६७ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री केसीले प्रहरीलाई नागरिकको शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानमा कर्तव्यनिष्ट भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रहरीलाई जनताको सहाराका रूपमा उभिन आग्रह गरे । उनले प्रदेशमा प्रहरी ऐन आइसकेकाले त्यसलाई अब कार्यान्वयनमा लैजानाका लागि सरकार प्रतिबद्ध रहेको भनाइ राखे । त्यस अवसरमा लुम्बिनीका प्रदेश प्रहरी प्रमुख नलप्रसाद अधिकारीले मातहतका प्रहरी अधिकारीलाई सङ्गठगनले दिएको जिम्मेवारीमा निस्वार्थभावले काम गर्न निर्देशन गरे ।