फाइल तस्बिर

राजनीति

मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाऔं : प्रधानमन्त्री देउवा

By खबरहब

November 17, 2022

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन आग्रह गरेका छन्।

बिहीबार भिडियो सन्देश सार्वजनिक गर्दै देउवाले यस्तो आग्रह गरेका हुन्। देउवाले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि बनेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरेका हुन्। उनले प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकतर्फ कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्।

‘प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गरौं’, देउवाले भने।

देउवाले राणा शासनदेखि अहिलेसम्मका आन्दोलनको नेतृत्व गरेको पार्टी कांग्रेस भएको भन्दै विकासको बाटोमा अगाडि बढे पनि अझै काम गर्न बाँकी रहेको बताएका छन्। शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी कामलाई छिटो छरितो बनाउन काम गर्ने देउवाको भनाइ छ।

निर्वाचनमा दिइएको अमूल्य मतदानले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भन्दै देउवाले गठबन्धनलाई जिताउन आह्वान गरेका हुन्। मतदानमा उत्साहाका साथ सहभागी हुन उनले अनुरोध गरेका छन्। देउवाले आफूहरु कुरा भन्दा काम गर्ने दाबीसमेत गरेका छन्।

आदरणीय मतदाताहरु,
मंसिर ४ गतेको मतदानमा सहभागि भएर लोकतन्त्रको उत्सव मनाऔं।

प्रत्येक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरौं। pic.twitter.com/wLx3FEsvVS

— Sher Bahadur Deuba (@SherBDeuba) November 17, 2022