फाइल फोटो

राजनीति

‘यो निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसङ्ग्रह गर्नेछ’

By खबरहब

November 17, 2022

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रुपमा टिप्पणी गरेका छन् । 

आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट व्यवस्था बदलेको  भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जित जरुरी रहेको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ । हामीलाई यही अवस्थामा रुमल्लिने छुट छैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो सन्देशमा विकास, समृद्धि र न्यायको यो यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभए उल्लेख गर्दै यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी रहेको बताएका छन्। 

‘प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको निर्माणमार्फत समाजवादको यात्रामा अगाडि बढ्न प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ गोलाकारभित्रको हसिया हथौँडा चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछु’, सन्देशमा दाहालले भनेका छन् ।