खेलकुद

एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस : आशिष र इन्दिरालाई स्वर्ण

By खबरहब

November 17, 2022

काठमाडौं – दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले स्वर्ण जितेका छन् । बिहीबार भएको खेलामा आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् ।

भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित गरे । एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रुपमा तेश्रो भए । यो स्पर्धा ब्वाइजरगल्र्सलाई मिसाएर खेलाइएको थियो । शीर्ष तीन स्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबलटेनिस खेल सामाग्री प्राप्त गर्ने छन् ।

यु–१६ मा सहभागी ब्वाइजरगल्र्स गरी जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धा अघि ओलम्पिकको टेबलटेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो ।

महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११–३, ११–३ र ११–३ को सोझो सेटमा हराइन् । नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेश्रो बने ।

पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो भए । उनले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३–११, ११–९, ११–७ र १४–१२ को सेटमा पाखा लगाए । नेपालका आनन्द धाक्वा र जगदीश्वर जोशीले तेश्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन र भारतका गरी जम्मा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।