राजनीति

गठबन्धनको जीत सुनिश्चित छ : खनाल

By खबरहब

November 17, 2022

इलाम – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताएका छन् ।

इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भने, ‘देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ ।’

नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताए । ‘देशले स्थिरता खोजेको छ । जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन् । मुलुकको चौतर्फी विकासका लागि गठबन्धनले देशभर विजय हासिल गर्दैछ ।’

उनका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ । ‘हाम्रासामु कुनै चुनौती छैनन् । पाँच वर्षमा मुलुकले काँचुली फेर्छ ।’ यो निर्वाचन आफ्नो अन्तिम चुनावी लडार्इं भएको बताउँदै खनालले देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्नसमेत तयार रहेको बताए ।