तस्वीर- कलर्स अफ इन्डिया

अन्तर्राष्ट्रिय

भारतमा ड्रोनमार्फत् दुर्गम क्षेत्रमा औषधि पुर्‍याइयो

By खबरहब

December 17, 2022

काठमाडौँ– पूर्वोत्तर भारतको मेघालय राज्यस्थित दुर्गम क्षेत्रमा पहिलो पटक चालकरहित हवाई उपकरण ‘ड्रोन’ मार्फत् औषधि पुर्‍याइएको छ । मेघालयको पश्चिम खासी हिल जिल्लाको सदरमुकामबाट २५ किलोमिटर टाढा रहेको स्वास्थ्य केन्द्रमा ड्रोनको माध्यमबाट औषधि पुर्‍याइएको हो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका जनताको सुविधाका लागि ड्रोनमार्फत् औषधि पुर्‍याइएको राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले जनाएका छन् ।

राष्ट्रिय स्वास्थ्य नियोगको सहकार्यमा भारतीय कम्पनी टेकइगलले औषधि पुर्‍याउन ड्रोन उत्पादन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि दक्षिण भारतको तेलङ्गाना राज्यको विकरावाद जिल्लामा पनि ड्रोनमार्फत् १२ किलोग्राम औषधि एवम् खोप पुर्‍याइएको थियो । छोटो समयमा लामो दूरी तय गर्न सक्ने एवम् पहाडी इलाकामा पनि सजिलै उडान भर्न सक्ने भएकाले औषधि पुर्‍याउन ड्रोनको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।