तस्वीर- टोलोन्युज

अन्तर्राष्ट्रिय

इरानले पूर्व अफगान सैनिकलाई युक्रेन युद्धमा लड्न पठायो : तालिबान प्रशासनका शरणार्थीमन्त्री

By खबरहब

December 17, 2022

काठमाडौँ- अफगानिस्तानका पूर्व सैनिकहरुलाई इरानले युक्रेनमा जारी युद्धमा लड्नका लागि पठाएको तालिबानका वरिष्ठ अधिकारीले जनाएका छन् ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबान प्रशासनका शरणार्थी एवम् पुनर्मिलनमन्त्री खलिल रहमान हक्कानीले पूर्व अफगान सैनिकहरुलाई यसअघि इरानले सिरिया र इराकमा लड्न पठाउने गरेको र अहिले युक्रेनतिर पनि पठाइरहेको आरोप लगाएका हुन् ।

यस विषयमा इरानी अधिकारीहरुसँग पनि छलफल गरिएको हक्कानीको भनाइ उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएको छ ।

केही सैनिक विश्लेषकहरुले आफ्नो मुलुकमा शरणार्थीका रुपमा रहेका पूर्व अफगान सैनिकहरुलाई इरानले आफ्नो स्वार्थका लागि प्रयोग गर्नसक्ने आँकलन गर्दै आएका छन् ।

यता काबुलमा रहेको इरानी दूतावासले भने पूर्व अफगान सैनिकहरुलाई युक्रेनमा लड्न पठाएको भन्ने आरोपको खण्डन गरेको छ ।