काठमाडौँ– चिनियाँ बजारमा यतिबेला निर्माण र प्रोपर्टी बिक्री ओरालो लागेको छ । मूल्य वृद्धि र कमजोर बिक्रीका कारण स–साना बजारहरू बन्द हुन थालेका छन् ।
समस्या बढ्न थालेपछि स्थानीय सरकारले करमा वृद्धि गरेका छन् । अहिले तल्लो तहको व्यवसायीहरू स्थानीय सरकार देखि नै असुल्न थालिएको करको मारमा थला परेका छन् ।
गतवर्षको अन्तिम महिनाबाटै चिनियाँ बजार क्षतविक्षत र तहसनहस भएको धेरै रिपोर्टहरूमा उल्लेख छ । सरकारले रियल स्टेटमा यो समस्या भएको स्वीकार गरेता पनि भित्रभित्रै यस्ता थुप्रै समस्याले चिनियाँ बजार आक्रान्त भइसकेको थियो ।
फरक यत्ति हो , अन्य क्षेत्रको तुलनामा रियल स्टेटको समस्या अझ बढी छ । र, त्यहाँको रियल इस्टेट उद्योग पछिल्लो एक दशकयताकै खराब अवस्थामा पुगेको छ ।
चीनको नाम चलेको शिमाओ ग्रुपले केही दिनअघि ट्रस्ट कम्पनीबाट लिएको कर्जा भाकाअनुसार पूरा तिर्न नसकेपछि कम्पनीको शेयर मूल्यमा समेत तीव्र गिरावट आएको थियो ।
चीनको दोस्रो ठुलो कम्पनी एभर ग्रान्डे पनि त्यस्तै समस्यामा छ । एभर ग्रान्डेले कर्जा तिर्न नसक्दा यसले चीनको अर्थतन्त्रमा निश्चित रूपमा नकारात्मक असर पारेको छ ।
अर्को ग्रुप शिमाओ पनि अहिले समस्यामा छ । चाइना क्रेडिट ट्रस्टको पत्रअनुसार शिमाओले ६४ करोड ५० लाख युआन (१० करोड १० लाख डलर) बराबरको कर्जा तिर्न सकेको छैन । सम्पत्ति बिक्री गर्न नसक्दा ऋणपत्र पुनः खरिद गर्न नसकेको कम्पनीको भनाइ छ ।
चीनको रियल इस्टेट डेभलपरप्रति लगानीकर्ताहरूको मनोबल विगत कयौँ महिना यता नकारात्मक हुने क्रम बढेको नाटिक्सिस प्रोप्राइटरको विश्लेषणले देखाएको छ । समग्र बजारले एभर ग्रान्डे प्रति ध्यान दिन थाल्नु अगाडि जुनमा १५ प्रतिशत डेभलपरहरुलाई मात्रै नकारात्मक रूपमा हेरिएको थियो ।
डिसेम्बरमा एभर ग्रान्डेले लगानीकर्ताहरूलाई भाकाअनुसार ब्याज भुक्तानी गर्न नसकेपछि यो दर बढेर ३५ प्रतिशतमा पुगेको हो । त्यसपछि अन्य डेभलपरहरुलाई पनि वित्तीय कठिनाइ भइरहेको खबरहरू आउन थालेका छन् ।
चीनमा ट्रस्ट कम्पनीहरूमा सन् २०१९ को अन्त्यतिर १५ प्रतिशत रहेको रियल इस्टेटको हिस्सा सन् २०२१ को सेप्टेम्बरमा घटेर १२ प्रतिशतमा आएको छ । ऋणपत्र बाहेक पनि अन्य प्रकारको कर्जा तिर्न रियल इस्टेट असफल हुनुलाई धेरै अर्थशास्त्रीले आश्चर्यको विषय ठान्न थालेका छन् ।
डिसेम्बरको शुरुमा एभर ग्रान्डे डिफल्टमा जानु त रियल स्टेट कारोबारमा एउटा धक्का नै थियो ।
यो त भयो, रियल स्टेटको कुरा । चिनियाँ बजारमा समस्या अहिले यत्रतत्र समस्याका चाङ छन् । कोरोना भाइरसलाई नियन्त्रण गर्ने नाममा गरिएको लकडाउन र अन्य कडाइका कारण बजारमा उपभोक्ताको उपस्थिति नै नभएपछि स्थानीय बजार यसको चपेटामा परेको थियो । इन्टरनेट व्यवसायदेखि स्कुल ट्युटेरियलको उत्पादकसम्ममा कडाइका साथ नियमहरू लागू गरिएपछि यसले लगानी कटौतीको लहर नै चलेको थियो ।
चीनको राष्ट्रिय तथ्याङ्क विभागले सोमबार जनाएअनुसार अक्टोबरदेखि डिसेम्बरसम्म गत वर्षको तुलनामा चार प्रतिशतले मात्र उत्पादनमा वृद्धि भएको छ । जबकि, वर्षको तेस्रो क्वार्टर अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म उत्पादनमा गत वर्षभन्दा ४.९ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो महिना चीनको उत्पादनमा अझै धेरै समस्या देखिएको छ ।
महामारी कालमा संसारमा आवश्यक पर्ने इलेकट्रोनिक्स, फर्निचर र अन्य घरेलु सामानमा चीनले कीर्तिमानी ढङ्गले बिक्री वितरण गरेको थियो । संसारका अन्य देशको अर्थतन्त्र महामारीका कारण पूरै भत्किए पनि चीनको अवस्था फरक हुन सक्ने आंकलन धेरैको थियो । तर, चीनको आन्तरिक अवस्था संसारका अन्य देशका नागरिकले अनुमान गरेभन्दा फरक थियो ।
पुराना जगेडा सामान अन्तर्राष्ट्रिय बजारमा लगे पनि उत्पादनमा त्यसअनुसार वृद्धि थिएन । अहिले अन्तर्राष्ट्रिय बजारमा चिनियाँ सामानको माग स्वतः घटेको छ । माग भएबमोजिमको आपूर्तिका लागि पनि चीन असमर्थ छ । चीनका घरेलु बजार भित्रको त्यो सङ्कट भुसको आगो झैँ सल्किएको छ । यसले थुप्रै साना उद्योगलाई अहिले तहसनहस नै पारेको छ ।
त्यसो त सन् २०२० को तुलनामा २०२१ मा चीनको आर्थिक उत्पादनमा ८.१ प्रतिसतले वृद्धि भएको आँकडा छ । तर, यो धेरै वृद्धि वर्षको पहिलो ६ महिनामा भएको हो । दोस्रो ६ महिना अर्थात् जुलाईदेखि डिसेम्बरको बीचको समयमा चिनियाँ अर्थतन्त्रका लागि ओरालोलाग्दो अवस्थामा छ ।
अहिले जिरो कोभिडको नीति लिएको चीनमा कोरोनाको ओमिक्रोन भाइरस फैलिरहेको छ । यसले त्यहाँ धेरै कडा नियम पनि जारी गर्न थालिएका छन् । यी नियमसँगै अर्थतन्त्रमा थप नकारात्मक असर पर्न थालिसकेको छ । यसले आपूर्तिको चेनलाई नै खलबल बनाएको छ ।
यो आर्थिक मन्दी अहिले चिनियाँ नेताका लागि दिवास्वप्न झैँ भएको छ । आयमा रहेको असमानतालाई सम्बोधन गर्न र दीर्घकालीन योजनाका लागि कम्पनीमा शुद्धीकरणको मुद्दा उठाएका चिनियाँ नेताहरू अहिले बिलखबन्दमा परेका छन् ।
लामो समयको नीतिलाई प्राथमिकता दिने या छोटो समयमा यो मन्दी हटाउन खोज्ने भन्नेमा निश्चित योजना बनाउन नै चिनियाँ नेताहरू असमर्थ देखिन थालेका छन् ।
यो आर्थिक मन्दीका बीचमा पनि चिनियाँ कम्युनिस्ट पार्टी (सिसीपी) का नेताहरू आन्तरिक र बाह्य राजनीतिमा बढी केन्द्रित रहेका छन् । अर्को महिना चीनले शीतकालीन ओलम्पिकको आयोजना गर्दै छ । चिनियाँ नेताहरू महोत्सवको आयोजना मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव जमाउन लागिपरेका छन् । यसै वर्ष सिजीङ पिङले अर्को पाँच वर्षे कार्यकालको दाबी प्रस्तुत गर्ने अनुमान गरिएको छ ।
चार दशकअगाडि चीन यस्तै खराब अवस्थामा पुगेको थियो । सो समयमा त्यस देशको अर्थतन्त्र डेङ साओ पेङको कार्यकालमा माथि उठ्न सुरु भएको थियो । अहिलेकै ओरालो गति कायम रहे चीन फेरी चार दशकअघिकै अवस्थामा पुग्ने र जर्जर बन्ने त होइन भन्ने आशङ्का पनि धेरैमा पलाउन थालेको छ ।
गतवर्ष नै चिनियाँ सरकारका सल्लाहकार तथा परिचित अर्थशास्त्री ली डाओकुइले चीनको अर्थतन्त्र अबको केही वर्ष अत्यन्त कठिन हुने कुरा बताइसकेका छन् । त्यसो त उनले एक वक्तव्यमा ४० वर्ष यताकै सबैभन्दा अप्ठेरो समय गएको पाँच वर्ष भएको समेत बताएका थिए ।
चीनले विगतमा अङ्गिकार गरेको एक चाइल्ड पोलीसीले यसरी अप्ठेरोमा पारेको छ कि, बुढापाकाहरूको तुलनामा युवाको जमात जत्ति हुनुपर्ने हो, त्यो छैन । यसले उत्पादनमा सिधै असर गरेको छ । चिनियाँ अर्थतन्त्रमा अहिले पाका र युवाको बीचको सङ्ख्यामा हुनुपर्ने समायोजन नै एउटा मुख्य समस्या बनेको छ ।
महामारी कालमा कच्चा पदार्थको मूल्यमा एकाएक वृद्धि भए भने थुप्रै उपभोक्ता घरमा नै बस्न बाध्य बनाइए । यसले थुप्रै उद्योगलाई धराशायी बनायो । ग्रामीण रोजगारमा पाँच भागको चार भाग तथा आर्थिक उत्पादनमा पाँच भागको तीन भागको हिस्सा ओगटेको निजी कम्पनीमा आएको यो समस्याले चीनलाई अझ ठूलो सङ्कटमा पारेको छ ।
काङसिक्वीङ यसैका एक उदाहरण हुन् । फूजीयान प्रान्तको दक्षिण पूर्वी सहर नान पिङमा उनले एउटा कपडा पसल खोलेका थिए । यो पसल अहिले ठप्प छ । ऋण काढेर पसल सुरु गरेका उनी उठ्नै नसकिने गरी उनी आर्थिक भारमा डुबेका छन् । धेरै अनलाइन बजार अहिले चलेका छन् । काङसिक्वीङले निराश हुँदै जुन महिनामा पसल बन्द गरे ।
ऋणको ब्याजदरले पनि अहिले चीनका साना व्यवसायीलाई मारमा पारेको छ । १० प्रतिशतभन्दा कम व्याजदारमा ऋण पाइने सम्भावना त कमै छ । सोमबार चिनियाँ केन्द्रीय बैङ्कले ब्याजदरलाई लक्षित गर्दै केही नीति लिएको छ । यसको उद्देश्य ब्याजदरमा कटौती गर्दै रियल स्टेट व्यापारीको सङ्कटलाई पार गर्ने हो । यो रियल स्टेटको समस्या त यसरी गाँजिएको छ कि, एउटा नीतिले अब पार पाउने सम्भावना नै कम छ ।
नयाँ घर निर्माण र फिट गर्नु चीनमा पछिल्लो समय प्रचलित व्यवसाय हो । यसले चिनियाँ अर्थतन्त्रको धेरै हिस्सा ओगटेको छ । अहिले यो क्षेत्र नै लडिरहेको छ ।
चीनको सबैभन्दा नाम चलेको समूह एभरग्रान्डे, कइसा ग्रुप र चाइना आयोन प्रोपर्टी ग्रुपमा देखिएको सङ्कटले नै चिनियाँ रियल स्टेट व्यवसायमा भएको दूरावस्थालाई चित्रित गरेको छ ।
रियल स्टेटहरू चर्को ब्याजदरको मारमा परेपछि उनीहरूले कम भवन निर्माण गर्न थालेका छन् । यसका कारण बेरोजगारी समस्यासमेत देखिन थालेका छन् । बेइजिङ र सांघाईजस्ता ठूला शहरमा समेत घाटा सहेर सस्तोमा घर बेच्न रियल स्टेटहरू बाध्य छन् ।
तल्लो तहका सरकारका लागि जमिन बिक्रीबापत आउने कर नै आम्दानीको ठूलो स्रोत बन्ने गरेका थिए । जमिन बिक्रीमा नै गिरावट आएपछि यसले स्थानीय सरकारलाई असफल बनाउने चिन्ता थपिएको छ ।
चिनियाँ बजारमा केही उत्पादन सन् २०२० को तुलनामा बढेका थिए । तर, ती वृद्धि अति आवश्यकभन्दा पनि बढी विलासिताका सामानमा थिए । कार र गरगहनामा लगानी बढेका पाइए । यी यावत् समस्याका बावजूद सरकारका केही अधिकारी वर्ष २०२२ को पहिलो ६ महिना कष्टप्रद भए पनि दोस्रो ६ महिना पुर्नउत्थान हुने सम्भावना व्यक्त गर्छन् ।
रियल इस्टेटमा आएको सङ्कट तथा स्थानीय बजारको सङ्कट र चर्को ब्याजदरका कारण बन्द हुँदै गरेका स्थानीय बजारलगायत समस्याका बीच चीन फेरि ४ दशक अगाडिकै बाटोमा त गइरहेको छैन भन्ने प्रश्न सबैका सामु छ ।