फाइल तस्बिर

राजनीति

बलिदानी दिवस : मधेस प्रदेशमा बुधबार सार्वजनिक बिदा

By खबरहब

January 18, 2022

काठमाडौं – मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ ।

प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ । यस वर्षको कार्यक्रममा मधेस आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री मंगलबार राजविराज पुगिसकेका छन् ।