मुख्य समाचार

देउवा र ओलीको दुई घण्टा छलफल : एमसीसीमा सहयोग गर्न आग्रह

By खबरहब

February 18, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणासहित बिहीबार राति साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए। ओलीसँग दुई घण्टासम्म चलेको भेटमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध हटाउन र एमसीसीमा सहयोग गर्न देउवाले आग्रह गरेका हुन्।

सत्ता गठबन्धनका नेतासँगको बैठक सकरात्मक नभएपछि बालकोट पुगेका देउवालाई ओलीले ठोस निर्णय भने दिन सकेनन्।

ओलीले पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्न सकिने बताएका छन्। ओलीको सचिवालयका सदस्यले मिडियालाई दिने गरी कुनै ठोस छलफल नभएको बताएको छ। ओलीका प्रेस संयोजक रामशरण बजगाईंले समसामयिक विषयमा कुराकानी भएको उल्लेख गरे।

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निजी निवास बालकोटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिबारे भेटवार्ता गर्नु भएको छ’, बजगाईंले भने।

यता बालुवाटार स्रोतले भने प्रधानमन्त्रीले एमसीसी अनुमोदन र संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रतिपक्षी दलका नेतासँग छलफल भएको बताएको छ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्।

पार्टीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा संसदमा टेबल गरेर अगाडि बढ्ने तयारीमा छन्। सत्ता गठबन्धनमा एमसीसी अगाडि बढाउने विषयमा अलमल देखेपछि देउवाले यो विषयमा प्रतिपक्षी दलको साथ खोजेका हुन्।