सांकेतिक तस्बिर

समाचार

स्थानीय निर्वाचनः महोत्तरीमा दलहरूबीच तीव्र रस्साकसी

By खबरहब

February 18, 2022

महोत्तरी– महोत्तरीका १५ वटै स्थानीय तहमा निर्वाचन लक्षित राजनीति दलका गतिविधि देखिन थालेका छन् । स्थानीय स्तरमा पार्टीको प्रभाव हेरेर अन्य पाटीले सोहीअनुसार रणनीति बनाएको देखिएको छ ।

यता उम्मेदवार टिकटका दाबेदारहरू आफ्नो माहोल बनाउन कम्मर कसेर लागेका छन् । यदि पार्टीले उम्मेदवारको लागि टिकट नदिए जिल्लामा स्वतन्त्र उम्मेदवारको संख्या निकै बढने देखिएको छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन । जिल्लाको उत्तरी क्षेत्रवाट हेर्दा बर्दिबास नगरपालिकामा माओबादी केन्द्रको बलियो पकड छ । अघिल्लो निर्वाचनमा पनि बहुमतसहित माओवादी केन्द्रको प्यानल नै विजयी बनेको थियो ।

त्यसैगरी गौशाला नगरपालिकामा माओवादी कै वर्चस्व देखिन्छ । अघिल्लो चुनावमा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको थियो ।

सम्सी गाउँपालिकामा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको प्यानल नै विजयी भए पनि आगामी निर्वाचनमा भने माओवादीलाई त्यति सजिलो छैन । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पार्टी छाडिसकेका छन् ।

उत्तरपट्टी औरही, रामगोपालपुरसम्म माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । भंगाहा नगरपालिकामा लोसपा र जसपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगाहा नगरपालिका, एकडारा, मट्टीहानी नगरपालिका लगायतका पालिकामा मधेश केन्द्रित दल बलियो देखिन्छ ।

महोत्तरीका १५ पालिका अन्तर्गत आठ पालिकामा तत्कालीन राजपाले, तीन पालिकामा कांग्रेस, तीन पालिकामा माओवादी केन्द्र र एक पालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको थियो ।