क्रिकेट

विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, ओमान ३९ रनले पराजित

By एसेन्स श्रेष्ठ

February 18, 2022

काठमाडौं–आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो ।

१ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अबिनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । नेपालका लागि आरिफ शेखले ३८ रन र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन जोडे ।

यस्तै क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले भोलि बिहान ११ः४५ बजे फिलिपन्ससँग प्रतिस्पर्धा गर्नेछ ।