राजनीति

चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न ३० दलको माग

By खबरहब

February 18, 2022

काठमाडौँ– स्थानीय निर्वाचन चुनाव चिह्न संघर्ष समितिले चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गरेको छ ।

विभिन्न ३० दलले गठन गरेको संघर्ष समितिले शुक्रबार चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गर्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिको टोलीले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पूरा गरी निर्वाचन

आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी सिन्डिकेट खडा गरेको समितिको ठहर छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनका लागि आवश्यक पहल गरिरहेको जानकारी गराए ।

स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्नेसमेत जनाएको छ ।