फाइल तस्वीर

राजनीति

गठबन्धनलाई चुनावसम्म कायमै राख्नुपर्छः अर्जुननरसिंह केसी

By खबरहब

February 18, 2022

काठमाडौँ– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताएका छन् ।

उनले गठबन्धनकै समर्थनमा एमसीसी सम्झौता प्रस्ताव अनुमोदन हुनुपर्ने र गठबन्धन पनि कायमै रहनुपर्ने बताए । ‘जुन प्रतिबद्धताका साथ चुनावसम्मै कायम रहने गरी गठबन्धन बनेको हो, त्यो प्रतिबद्धता पूरा गर्नुपर्छ । जनतालाई धोका दिन पाइँदैन,’ नेता केसीले भने ।

गठबन्धनआबद्ध दलबीच सहमति नभए एमालेसँग काँग्रेसले सहकार्य गर्न सक्ने आशय उनको छ । एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्दै नेता केसीले भने, ‘राजनीति परिर्वतन र सम्भावनाको खेल हो । अन्य दलसँग पनि सहकार्य नहोला भन्न सकिँदैन । तर, त्योभन्दा पहिला गठबन्धन एउटा निर्णयमा पुग्नुपर्छ ।’

गठबन्धनमा सहमति नजुट्दा एमसीसी शुक्रबार प्रतिनिधिसभामा पेश हुन सकेन । सरकारले संसद बैठकमा पेश गर्ने तयारी गरे पनि गठबन्धनमा आबद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ ।

सरकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल काँग्रेस एमसीसी संसद बैठकमा पेश गर्ने पक्षमा भए पनि अन्य दलको साथ पाउन सकेको छैन ।

गठबन्धनको जोगाउँदै एमसीसी पनि संसदमा पेश गर्ने तयारी काँग्रेसको छ । जस कारण काँग्रेसले गठबन्धन बैठकलाई निरन्तरता दिएको छ ।

गठबन्धनको बैठक फेरि आइतबार बस्दै छ ।