तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’

By खबरहब

March 18, 2022

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि युक्रेनमा जारी युद्धमा अमेरिका सामेल भएको खण्डमा आफ्ना सेना नपठाउने घोषणा गरेका छन् । एक सम्बोधनका क्रममा डुटेर्टेले यस्तो बताएका हुन् ।

‘म सेना पठाउने छैन । यदि अमेरिकीहरू युद्धमा सहभागी हुन चाहन्छन्, अमेरिकीहरू यहीँ छन्, मैले किन सेना पठाउने ?’ उनले भने, ‘यदि हिंसा फैलिएको र केही गरी युद्ध यहीँ आइपुगेको खण्डमा अत्यन्त कठिन हुनेछ । म राष्ट्रपति रहेसम्म मेरा एउटै सैनिकलाई पनि युद्धमा पठाउन्न ।’

अमेरिका र फिलिपिन्सबीच आपसी रक्षा सन्धि कायम छ । जसअनुसार एक मुलुकमाथि तेश्रो पक्षले आक्रमण गरेको खण्डमा अर्को मुलुकले सहयोग गर्ने उल्लेख छ ।

सन् २०१६ मा राष्ट्रपतिको पद सम्हालेयता डुटेर्टेले दुई पटक रुसको भ्रमण गरेका छन् । यसअघि केही अवसरमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो ‘व्यक्तिगत मित्र’ र ‘आदर्श’ भएको बताएका थिए ।