फाइल फोटो

क्रिकेट

यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट

By खबरहब

March 18, 2022

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएकाे एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा तीन विकेट गुमाएकाे छ ।

यसअघि युएईले ४६ ओभर तीन बलमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेकाे थियाे । यूएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिए । यसबाहेक, करण केसीले तीन विकेट लिए । उनले ७।३ ओभर बलिङ गर्दा एक मेडनसहित १६ रन खर्चिए । यस्तै, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।