समाचार

सैनिक जवानको सम्मानका साथ अन्त्येष्टि

By खबरहब

March 18, 2022

काठमाडौँ– गैँडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएका सैनिक जवान २८ वर्षीय पवन कटुवालको सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

शुक्रबार उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ कटुवालको अन्त्येष्टि गरिएको हो ।

चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत कटुवालको बुधबार राति गैँडाको आक्रमणपछि भाग्ने क्रममा दलदल पोखरीमा डुबेर ज्यान गएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोल गाईघाटका कटुवालको शवलाई त्रियुगा नदी किनारमा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएको थियाे ।

उनको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो ।

श्रद्धाञ्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापालगायत उपस्थित भएका थिए ।

कटुवालको एक छोरी र श्रीमती छन् ।