समाचार

तराई क्षेत्रमा हर्षोल्लासका साथ आज होली पर्व मनाइयो

By खबरहब

March 18, 2022

काठमाडौँ- रङ्गहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै हर्षोल्लासका साथ शुक्रबार तराई क्षेत्रमा मनाइएको छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ ।

शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।