तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

 रुसद्वारा युक्रेनी विमानस्थलमा क्रुज क्षेप्यास्त्र हमला

By खबरहब

March 18, 2022

काठमाडौं– युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन् ।

कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ ।

लभिभ शहरका मेयर आन्द्रेई  सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए । यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो । हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोपका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरूका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।