तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चीनका ३१ मध्ये २८ प्रान्तको आर्थिक वृद्धिदरमा कमी आउने

By खबरहब

March 18, 2022

काठमाडौं– चीनका ३१ मध्ये २८ प्रान्तले यस वर्षको आर्थिक वृद्धिदर एवम् नीतिगत लक्ष्य कटौती गरेका छन् । चीनका २८ प्रान्तले अघिल्लो वर्षको तुलनामा चालु वर्ष सन् २०२२ मा कम आर्थिक वृद्धिदर हासिल गर्ने सम्भावनालाई मध्यनजर गर्दै आर्थिक वृद्धिदरको लक्ष्य घटाएका हुन् ।

हालै सार्वजनिक तथ्यांक अनुसार शाङ्हाई, बेइजिङ, गुआङडोङ जस्ता क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस वर्षको आर्थिक वृद्धिदरमा कमी आएको देखिएको थियो ।

यसबाहेक जारी रुस युक्रेन युद्ध र कोरोना भाइरसको बढ्दो प्रकोपका कारण विभिन्न शहरहरूमा लागू गरिएका लकडाउन र अरु नियन्त्रणात्मक प्रबन्धले गर्दा चीनले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल गर्न नसक्ने अनुमान गरिएको छ ।

कमजोर आर्थिक वृद्धिले राष्ट्रपति सी जिन्पिङलाई अप्ठ्यारोमा पारेको हङ्कङ पोस्टले जनाएको छ । राष्ट्रपति सी यसै वर्ष आयोजना हुने कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा अर्को कार्यकालका लागि पनि दाबेदारी दिने तयारीमा छन् ।

कोरोना भाइरसको असर, कार्बन उत्सर्जन कटौती गर्न दबाब र विश्व आपूर्ति व्यवस्थामा आएको गडबडी, बढ्दो बेरोजगारी समस्याले अर्थतन्त्रलाई पुनर्जागरण गर्ने सरकारी प्रयासमा गम्भीर आशंका उत्पन्न भएको हङ्कङ पोस्टले जनाएको छ ।

सन् २०२० को शुरुदेखि हालसम्म चीनमा स्थानीय सरकारको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको बताइएको छ । यसबाहेक बढ्दो बेरोजगारीका कारण युवापुस्तामा वर्तमान कम्युनिष्ट पार्टीको सरकारको लोकप्रियता पनि घट्दै जाने अनुमान गरिएको छ ।

(जीफाइभबाट)