समाचार

युरेनियमको कारोबारमा संलग्न रहेको आरोपमा समातिएका काँग्रेस नेतासहित ८ जना रिहा

By खबरहब

March 18, 2022

काठमाडौँ– रेडियोधर्मी धातु युरेनियमको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका नेपाली काँग्रेसका नेतासहित ८ जना रिहा भएका छन् ।

बरामद् गरिएको धातु युरेनियम नभएको पुष्टि भएपछि नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका हुन् ।

रिहा हुनेमा महतका साथै व्यवसायी भुपेन्द्रबहादुर खड्का, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र मिश्र र राजु ठाकुर छन् ।

दुई ठाउँमा धातुको परीक्षण गर्दासमेत युरेनियम पुष्टि नभएको बताइएको छ ।

भारतबाट युरेनियम बेचबिखनमा केही व्यक्ति सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले २ किलो ८०० ग्राम तौल भएको युरेनियम भनिएको पद्धार्थ बरामद् गरेको थियो । युरेनियम प्रमाणित नभएपछि सरकारी वकिलले थप अनुसन्धान गर्न भन्दै फाइल फिर्ता पठाएको छ ।

अनुसन्धान गर्ने अवस्था नभएको र अदालतमा म्याद थप पनि नहुने भएकाले थुनामा रहेका व्यक्तिलाई प्रहरीले रिहा गरेको हो ।

उनीहरूलाई प्रहरीले फागुनमा बौद्धस्थित एक होटलबाट पक्राउ गरेको थियो ।