अपराध

महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ

By खबरहब

March 18, 2022

संखुवासभा– नक्कली प्रहरी बनेर महिलाको अपहरण गर्ने दुई जना पक्राउ परेका छन् ।

शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले नक्कली प्रहरीहरू पाँचखपन नगरपालिका–४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूलाई संखुवासभाको खाँदबारी नगरपालिका–८ बाट प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमिला सार्कीलाई प्रहरीको पोसाकमा आएका चार जनाले घरबाट करिब १ सय मिटर पर जंगलमा लगेर पति रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए ।

रमेशले पत्नी प्रमिलाको अपहरण गर्न चार नक्कली प्रहरी परिचालन गरेका थिए ।

त्यसपछि रमेशले पत्नीको ज्यान मार्न शारीरिक तथा मानसिक यातना दिएका थिए ।

प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरीमा उजुरी गरेकी थिइन् ।

रमेशले काठमाडौँको बागबजारबाट प्रहरीका नक्कली पोशाक प्रतिजोर प्रतिदिन ५ सयका दरले भाडामा ल्याएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

पारिवारिक कलह तथा आपसी विवादले चरम रूप लिएपछि माइत आएकी श्रीमतीलाई आफूसँग लान नक्कली प्रहरीको सहयोग लिएको बुझिएको छ । अन्य फरार नक्कली प्रहरीको खोजी भइरहेको छ ।