देश/प्रदेश

राजनीतिमा दलित समुदायको प्रतिनिधित्वको लागि ज्ञापनपत्र पेस

By खबरहब

April 18, 2022

काठमाडौँ – राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालले निर्वाचन आयोगलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व माग गर्दै अभियानका संयोजक खगेन्द्र सुनारलगायतको टोलीले आइतबार आयोगको कार्यालय कान्तिपथ पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको हो ।

सो क्रममा प्रमुख आयुक्त थपलियाले दलित समुदायको सार्थक सहभागिताका लागि राजनीतिक दलहरूलाई घचघच्याउनुपर्ने बताए ।

अभियानका संयोजक सुनारले राज्यका निर्णायक तहमा दलितको उचित प्रतिनिधित्व हुने व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

त्यसअघि रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले माग पत्रबारे जानकारी गराएको थियो ।

अभियानले राजनीतिक दलका नेताहरूलाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

आगामी निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, कुल उम्मेदवारमध्ये जनसंख्याको आधारमा १३ प्रतिशत उम्मेदवार दलित समुदायबाट बनाउने व्यवस्था गर्नुपर्नेलगायतका माग अभियानले अघि सारेको छ ।