तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण चीनको सांघाई शहरमा ३ जनाको मृत्यु

By खबरहब

April 18, 2022

काठमाडौं– गत मार्च महिनामा लाकडाउन लागू गरेयता पहिलो पटक चीनको संघाईमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएको छ ।

मारिनेहरु ८९ देखि ९१ वर्ष उमेर समूहका रहेको शहरको स्वास्थ्य आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सांघाईको स्वास्थ्य आयोगले पछिल्ला मृत्युको घोषणा गर्दै आइतबार ‘बचाउने पूर्ण प्रयत्नका बावजुद’ तीन जनाको मृत्यु भएको जनाएको हो । मारिनेहरुले कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताइएको छ ।

सांघाईका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शहरमा ६० वर्षभन्दा माथिका केबल ३८ प्रतिशत बासिन्दाले मात्र पूर्ण खोप लगाएका छन् ।

हालसम्म चीनले शहरमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएको बताउँदै आएको थियो । यद्यपि यो दाबीलाई लिएर धेरैले प्रश्न उठाएको बीबीसीले जनाएको छ ।

सन् २०२० को मार्च महिनायता सोमबारमात्रै पहिलो पटक चिनियाँ स्वास्थ्य अधिकारीले कोरोना भाइरसका कारण कसैको मृत्यु भएको स्वीकार गरेका बीबीसीले जनाएको छ ।