बलिउड/हलिउड

फ्लप भएपछि ओटीटीमा आउँदै ‘बिस्ट’

By खबरहब

April 18, 2022

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले कोरोना भाइरसको महामारी पश्चात रिलिज गरेको फिल्म ‘मास्टर’ बाट दर्शक माझ एउटा भिन्न पहिचान बनाए ।

कोभिडको पहिलो लहरपछि सन् २०२१ मा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’ पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’ को प्रतीक्षा गरिरहे थिए । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैयाँ पारिश्रमिक लिए । यद्यपि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । गत अप्रिल १३ मा रिलिज भएको फिल्मले दर्शक नपाएपछि अब यसलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिने भएको छ ।

नेल्सन दिलीपकुमार निर्देशित फिल्मलाई आउँदो मे महिनाको ११ तारिखमा नेटफ्लिक्समा हेर्न पाइनेछ । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । फिल्ममा योगी बाबु, अर्पणा दासलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलरको यो फिल्मका लागि अभिनेता विजयले १० वर्ष पश्चात टिभी अन्तर्वार्ता समेत दिएका थिए ।

‘सन टीभी’ ले गत अप्रिल १० मा राति ९ बजे प्रसारण गरेको अन्तर्वार्ता विजयले कुनै पनि टेलिभिजनलाई १० वर्षपछि पहिलोपटक दिएका थिए । प्यान इन्डिया फिल्मको रुपमा रिलिज गरिएको फिल्मले कुनै पनि भाषामा दर्शकको साथ पाउन सकेन ।