फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

तालिबानको हिरासतमा रहेका फोटोपत्रकार रिहा गर्न माग

By खबरहब

April 18, 2022

काठमाडौं– अफगानिस्तानमा पत्रकारहरूले तालिबानको हिरासतमा बन्दी बनाइएका बीबीसीका फोटोपत्रकारलाई रिहा गर्न माग गरेका छन् । बीबीसीका क्यामेराम्यान पिटर जोभेनल हाल तालिबानको नियन्त्रणमा रहेको जनाइएको छ ।

उनका साथी डेभिड लोयनले जनाएअनुसार तालिबानले यसअघि दुई बेलायती र एक अमेरिकीलाई रिहा गरेको थियो । यद्यपि जर्मन र बेलायती नागरिक जोभेनल अझै पनि तालिबानको हिरासतमा रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार जोभेनल अफगानिस्तानका वर्तमान आन्तरिक मन्त्री शेराजुद्दिन हक्कानीका पिता जलालुद्दिन हक्कानीसँग निकट थिए ।

सन् १९९७ मा अमेरिकी टेलिभिजन च्यानल सीएनएनले आतंककारी नेता ओसामा बिन लादेनको अन्तरवार्ता लिँदा उनैले क्यामेरा सञ्चालन गरेको बताइएको छ ।

उनी गत वर्ष तालिबानले सत्ता हत्याएपछि व्यवसायीका रुपमा अफगानिस्तान प्रवेश गरेका थिए । उनलाई तालिबानले नियन्त्रणमा लिनुको कारणबारे अझै स्पष्ट नभइसकेको एएनआईले जनाएको छ ।