अन्तर्राष्ट्रिय

युवाबाट परिवर्तनको अपेक्षा र बालेनले पाएको मत

By मनोज घिमिरे

May 18, 2022

सन् २०१९ को निर्वाचनपछि भारतीय राजनीतिमा मकेला काभ्याको चर्चा चुलिएको थियो। आन्ध्र प्रदेशमा निर्वाचन अघि बनेको नयाँ नगरपालिका जहावरमा २६ वर्षीय काभ्या निर्वाचित भएकी थिइन्। उनको राजनीतिमा खासै अनुभव थिएन। बाबु मेकयाल आपु पनि जिल्ला तहका राजनीतिक व्यक्ति थिए। आईटीकी विद्यार्थी उनको सोही व्यवसायमा सुन्दर भविष्य भए पनि राजनीति तर्फ नै मोह बढेको थियो। यसै मोहका कारण उनी राजनीतिमा हाम फालेकी थिइन्।

उनले महत्त्वपूर्ण जिम्मेवारी पाएको केही महिनापछि नै परीक्षणको समय आइ सकेको थियो। सन् २०२० को सुरुवातमै भारतमा पनि कोरोना महामारीको असर देखिएको थियो। त्यसै समयमा अग्र मोर्चामा रहेर काम गरेपछि आम व्यक्तिका लागि उनी प्रिय बनेकी थिइन्।

‘जहावर नगरका ९० प्रतिशत व्यक्ति दैनिक ज्याला गरेर खाने गर्छन्। कोरोना महामारीको समस्यामा आधारभूत आवश्यकता पुरा गर्न साँच्चै कठिन थियो,’ आम नागरिकका लागि कठिन समयका बारे उनले भनेकी छन्।

घरमा दुई वर्षकी छोरी लिएर लगातार सामाजिक काममा भिड्नु पक्कै पनि चानचुने कुरा थिएन। कसरी कामलाई व्यवस्थित गर्ने भन्ने चिन्ता उनलाई नभएको होइन। निर्माण व्यवसायमा रहेका प्रवीणले पनि उनलाई राम्रो साथ दिएका थिए। तेलंगनाको  यो सबैभन्दा गरिब महानगर हो। यस कारण त्यस महानगरलाई समृद्ध बनाउन उनको थकानरहित मेहनतले धेरैलाई आश्चर्यमा पारेको छ।

त्यसो त आर्या राजेन्द्रनलाई पनि राजनीतिको आदर्श मान्नेको कमी छैन। त्रीभन्दपुरमकी यी २२ वर्षीय मेयर पनि भारतलाई कोभिड महामारीले आक्रान्त पारेको समयमा निर्वाचित भएकी हुन्।

कोभिड महामारीसँगको सङ्घर्षमा आफूलाई अब्बल मेयर साबित गरेकी उनले त्यस पछि थुप्रै परिवर्तनकारी कार्यक्रम लागू गरेर आफू उत्कृष्ट भएको पुष्टि गरेकी छन्। उनले थालेको फोहोर व्यवस्थापन र यसलाई पुर्न उपयोग अर्को महत्त्वपूर्ण काम हो। महिलाको अर्थोपार्जनका लागि ल्याइएका थुप्रै कार्यक्रम उनका थप उपलब्धि हुन्। २३ वर्षीया यी मेयरबाट भारतीय नागरिकले अन्य क्षेत्रमा पनि यस्तै ऊर्जाशील मेयरको अपेक्षा गर्न थालेका छन्।

‘जब प्रतिनिधित्वमा समानता हुँदैन, तब यो कसरी प्रजातन्त्र भयो ? जब हामी पुरुषलाई मात्र सम्पूर्ण अधिकार दिन्छौ। यो कसरी प्रजातन्त्र भयो ? जब आफ्ना सहयात्री र साथी महिलाको सम्मान हुँदैन तब बुझ्नुपर्छ कि तिम्रो कुरा सुन्नका लागि लायक हुँदैनन्,’ यी एक अफ्रिका महादेशको मेयरको कथनलाई पछिल्लो समय संसारका विकसित देशका नेताले पनि अनुसरण गर्न थालेका छन्। जाम्बीयाकी कानुवंगे छोटा कान्यानमिना कान्छीबीया पालीकाकी मेयर छिन्। त्यहाँको एउटै जिल्लाको एउटै पालिका रहेका कारण जिल्लाको प्रमुख पनि मेयर भएको हो।

स्वीडीस महानगरसँग महानगरीय साझेदारी कार्यक्रम अगाडि बढाउने क्रममा उनले यो कुरा उल्लेख गरेकी थिइन्। उनको पनि कथा फरक छ। उनले अगाडि बढाएको कार्यक्रममा महिलालाई उद्योग गर्न चाहेमा थुप्रै गरिब भए पनि बिना ब्याज ऋण उपलब्ध गराउने नीति छ। संयोग नै मान्नुपर्छ, त्यस ऋण लिएर उद्यम गर्नेले आफ्नो जीवनस्तरलाई धेरै नै सुधार गरेका छन्।

उनी त्यसै लोकप्रिय भएकी भने पक्कै होइनन्, थुप्रै रात जागा भएको उनको अनुभव छ। आधा रातमा घरमा गएर खाना खाइरहेको समयमा पनि धेरै पटक फोनमा गुनासो आउने गरेका थिए। उनीहरूको समस्या हर सम्भव प्रयासमा बाबजुद समाधान नभएपछि थुप्रै पटक उनीमाथि आक्रामक व्यवहार मतदाताले गरेका थिए। अहिले सबैका लागि उनी लोकप्रिय छिन्।

उनी उम्मेदवार भइसकेपछि चुनावी प्रचारका लागि श्रीमानले जग्गा नै बेची दिए। अहिले त्यो दम्पती भ्रष्टाचार गरेर सम्पत्ति फिर्ता गर्ने सोचमा छैन। ‘मैले गरेको कामलाई सबैले मन पराएर म रोल मोडल हुन पाएँ भने त्यो जग्गा भन्दा महत्त्वपूर्ण हो’, कानवंगेले भनेकी छिन्।

संसारका गरिब देश होइन, सम्भ्रान्त देशमा पनि कम उमेरमा आफूलाई पुष्टि गर्ने थुप्रै युवा छन्। सिकागोको सहर रोबीन्स इलोनीयोसले पनि एउटा युवा र प्रेरणादायी मेयर पाएको छ। २९ वर्षमा उमेरमा डारेन ब्रायन्ट त्यहाँका मेयर भएका थिए। अश्वेत जातीको उल्लेख्य बसोबास भएको रोबीन्सनमा ब्रायन्टको उपस्थिति भन्दा अगाडि त्यस जातीले महत्त्वपूर्ण राजनैतिक जिम्मेवारी कमै पाएको थियो।

कम उमेरमा सामाजिक काममा सक्रिय भएका कारण उनलाई आम नागरिकले मन पराएका थिए। ‘म मेरो व्यक्तिगत कामबाट बचेको समय सर्वसाधारणलाई दिएकै कारण सबैको प्रिय भएको हुँ’, महत्त्वपूर्ण जिम्मेवार पाएपछि उनले भनेका थिए। सन् २०१४ मा केन्टुकी विश्वविद्यालयमा अध्ययन गरिरहेकै समयमा उनी विद्यार्थी युनियनको सभापति भएका थिए। २३ वर्षको उमेरमा उनी पार्क जिल्ला कमिस्नर भएका थिए।

ब्रायन्टले कम्ती चुनौतीपूर्ण अवस्थामा यो जिम्मेवारी सम्हालेका होइनन्। रोबीन्सनमा ४२ प्रतिशत गरिब रहेको त्यहाँको सरकारी आँकडा छ। १२ प्रतिसतले मात्र स्नातक गरेका छन्। मेयर भए पनि त्यहाँका विद्यालयमा नै पुगेर बच्चालाई पढ्न प्रेरित गर्ने र सहयोग गर्ने अभियानलाई उनले छाडेका छैनन्।

त्यत्ति मात्र होइन, उनले थुप्रै गरिबलाई आवश्यक परेको समयमा सहयोग गर्दै आएका छन् । ब्रायन्टले आफू मेयरको जिम्मेवारी सम्हालेपछि पनि आम गरिबका जीवनमा आइ पर्ने समस्या समाधान गर्नमा नै आफूलाई केन्द्रित गरेका छन्। ‘म सबैलाई यो महसुस गराउन चाहन्छु कि संसार कत्ति सुन्दर छ,’ उनले भने।

अमेरिकामा एउटा सोच छ। नगर पिता हुनका लागि परिपक्वता र अनुभव चाहिन्छ भन्ने आम मान्यता त्यहाँ पनि छ। यी नै कारणले लामो समय राजनीतिमा बिताएर कपाल फुलाइसकेकाको नेतृत्वमा थुप्रै महानगर छन्। केही यस्ता महानगर अमेरिकामा छन्, जहाँ कम उमेरमा मेयरले सत्ता चलाएका छन्। त्यसै मेयरका कारण त्यो नगर प्रगतिको पथमा पनि लम्की रहेको छ।

सन् २०१६ मा क्यालिफोर्नियाको स्टकटनमा २२ वर्षीय माइकल टब्स मेयर भएका थिए। उनी पनि त्यहाँ मेयर हुने पहिलो अफ्रिकन अमेरिकन हुन्। उनको बाल्यकाल पनि सहज थिएन। उनका बाबु आजीवन कारावासको सजाय भोगेका कारण उनको बाल्यकाल गरिबीमा बितेको थियो। आफूले गरिबीमा बिताएका कारण गरिबी मुक्त समाजको निर्माणमा नै उनले आफूलाई समर्पण गरे।

सन् २००८ मा मोस्कुजी ओकाआल्मोमा १८ वर्षीय जोन हामोन्स रिपब्लिक पार्टीबाट मेयरमा निर्वाचित भएका थिए। उनले लामो समय राजनीतिमा बिताएनन्। भर्खरै कलेज विद्यार्थी भएको समयमा मेयर भएका उनी पढाइ सकिएपछि अधिवक्ताको काममा सक्रिय भएका थिए।

त्यसो त मिचीगनको हिल्सडालेमा सन् २००५ मा १८ वर्षका माइकल सेसन्स मेयर भएका थिए। उनले पनि तल्लो तहमा चुनावी अभियान तीव्र पारेर त्यस सफलता पाएका थिए। ओरीगन राज्यको योन्कालामा बेब सिमन्स पनि १८ वर्षको उमेरमा मेयर भएका थिए।

मान्छेले कुन उमेरमा कत्ति राम्रो कर्म गर्नुपर्छ भन्ने उसको उमेरले नै निर्धारण गर्ने त पक्कै होइन। उसको दृढ इच्छा शक्ति र समर्पण भावमै यी कुरा धेरै निर्भर रहन्छ।

नेपालमा ३२ वर्षीय बालेनले काठमाडौँ महानगरपालिकामा सफलता पाए उनका लागि प्रशस्त चुनौती छन्। साथमा आफूलाई नयाँ राजनीतिक नायकको रूपमा पुष्टि गर्ने अवसर पनि छ।

नेपालको राजनीतिमा थुप्रै समस्या पक्कै छन्। उनीबाट ती सबैको सम्भावना पक्कै छैन। तर, अहिले काठमाडौँवासीले निश्चित कुरा पक्कै खोजेका छन्।

यही महानगर हो, जहाँ फोहोरको ढलमा खसेर आफ्नो बच्चा गुमाउने छन्। त्यो समयमा पनि राज्यका निकायले आफू गैरजिम्मेवार भएको महसुस गरेनन्। सही उपचार नपाएर धेरैले ज्यान गुमाइरहेकै छन्। आफ्नो बच्चाको राम्रो शिक्षाका लागि सरकारी विद्यालयमा अध्ययन गराएर प्रतिस्पर्धा गर्ने कुरामा धेरैलाई विश्वास छैन। निजी विद्यालयमा पढाउन सहज छैन।

काठमाडौँको नगर पिताले गर्नुपर्ने धेरै कुरा होलान्। तर, बालेन कालमा ढलमा खसेर कोही बच्चा नपरोस्। सही समयमा उपचार नपाएको कारण कसैको ज्यान नजाओस्। गरिब होस् या धनी सबैका लागि शिक्षाको व्यवस्था होस्। अनुशासन हरेक क्षेत्रमा कायम होस्, ताकी जेब्रा क्रसिङबाट बाटो काट्दा ठक्कर दिएर कसैको ज्यान नजाओस्। सङ्कटको समयमा पनि कोही भोको बस्न नपरोस्। यत्ति गरेमा ३२ वर्ष राजनीतिमा बिताउने भन्दा ३२ वर्ष उमेर पुगेको युवा साँच्चै नायक ठहरिने छन्। तर, यी सबैका लागि केही समयमा पक्कै परिणाम कुर्नै पर्ने हुन्छ।

स्रोतः ओल्डेस्ट डट ओरजी इन्डियन एक्सप्रेस, आइसीएलडी, गुड मर्नीङ अमेरिका