राजनीति

प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको पोखराको मतगणना पुनः सुरु

By खबरहब

May 18, 2022

कास्की- पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको मतगणना पुनः सुरु भएको छ ।

नेकपा एमालेका प्रतिनिधिले मतगणना स्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो । सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले पुनः सुरु भएको हो ।

वडा नम्बर ७ को मतगणना भइरहँदा एमाले प्रतिनिधिले नेपाली कांग्रेसले धेरै प्रतिनिधि प्रवेश गराएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मतगणना भइरहेको हल बाहिर नाराबाजीसमेत गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि हाल मतगणना सुरु भएको हो ।